
काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवले कानुन अनुसार नै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आयोगले पुनः मतदान गर्ने निर्णय गरेको बताएका छन्।
आयोगको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले व्यवस्थापिका–संसद्ले बनाएको स्थानीय तहको कानुनको दफा ४९ र ५० लाई आधार मानेर आयोगले निर्णय गरेकाले यसमा विवाद नगर्न आग्रह गरे।
उनले च्यातिएका ९० वटा मतपत्रलाई बन्दमा नराखी पुनः मतदानमा गएर सबै मतदातालाई सक्रिय तुल्याई सौहार्दपूर्ण वातावरणमा पुनः मतदान गर्नु राम्रो हुने भन्दै यसलाई प्रजातन्त्रमा निरन्तर हुने अभ्यासका रुपमा बुझ्न आग्रह गरे।
नष्ट भएका ९० वटा मतपत्रबाटै निर्णयमा पुग्नु पर्यो भने के गर्ने भनी प्रश्न गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले भने, 'कतिपय मतपत्र गन्नै नसकिने गरी धुजाधुजा भएर च्यातिएको छ, यो अप्ठेरो स्थिति हो, लोकतन्त्रमा जनताको एउटा मतको पनि ज्यादै महत्व हुन्छ, च्यातिएका मतपत्र कसरी व्यवस्थापन गर्ने भन्ने मुख्य प्रश्न हो। रासस