काठमाडौँ: प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा निर्वाचनको कार्यसूची छ। सभामुख ओनसरी घर्तीले यसअघि घोषणा गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने तयारी छ।
तर, प्रतिपक्ष दलको अवरोधको स्थिति यथावत रहेका कारण प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने सम्भावना छैन। भरतपुर प्रकरणलाई लिएर एमालेले निरन्तर रुपमा सदन अवरुद्ध गर्दै आएको छ।
एमालेको शनिबारको स्थायी समिति बैठकले जारी निर्वाचन प्रक्रिया अघि बढ्न नदिने निर्णय गरेको थियो। यस्तै भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको निर्णयमा कानुनी उपचारलाई पनि अघि बढाउने एमालेको तयारी छ।
प्रधानमन्त्रीमा भने कांग्रेस सभापति शेरबहादुर देउवाको एकल मनोनयन परेको छ। देवाको पक्षमा सहज बहुमत जुटेको छ। कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलका गरी देउवालाई ३११ सांसद्को समर्थन छ।
राजनीतिक सहमतिबाट सदनको अवरोध नहटेसम्म प्रधानमन्त्री चयनको प्रक्रिया भने अनिश्चित छ।