PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

प्रधानमन्त्री चुन्न एमालेको अवरोध, ओलीलाई कुर्दै संसद बैठक स्थगित

प्रधानमन्त्री चुन्न एमालेको अवरोध, ओलीलाई कुर्दै संसद बैठक स्थगित

मनोज सत्याल/पहिलोपोस्ट


काठमाडौँ: प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदमा निर्वाचनको कार्यसूची भए पनि एमालेको अवरोधका कारण बिहान ११ बजेका लागि डाकिएको बैठक सूचना टाँस गरी दिउँसो ३ बजेका लागि सरेको छ। 
 
भरतपुर प्रकरणलाई लिएर एमालेले केही दिनदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएको छ।

बिहान १० बजे सभामुख ओनसरी घर्ती मगरले डाकेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले आ-आफ्नो अडान कायम राखे। एमालेले संसद बैठक चल्न नदिने अडान कायम राखेपछि सभामुखले शीर्ष नेताको बैठक डाकेकी थिइन्। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', भावी प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवासहित एमालेका तर्फबाट माधव नेपाल, झलनाथ खनाल उपस्थित थिए। तर एमाले अध्यक्ष केपी ओली भने बैठकमा गएनन्। 

ओली उपस्थित नभएपछि सभामुखले सूचना टाँस गरेर संसद बैठक ३ बजेका लागि स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा 'बबिन' ले जानकारी दिए। 

यसअघि दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक डाकिएको छ। 

एमालेको शनिबारको स्थायी समिति बैठकले जारी निर्वाचन प्रक्रिया अघि बढ्न नदिने निर्णय गरेको थियो। 

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल मनोनयन परेको छ। देउवाको पक्षमा सहज बहुमत जुटेको छ। कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलका गरी देउवालाई ३११ सांसद्को समर्थन छ।

प्रधानमन्त्री निर्वाचित हुने निश्चित हुँदा पनि राजनीतिक सहमतिबाट सदनको अवरोध नहटेसम्म प्रधानमन्त्री चयनको प्रक्रिया भने अनिश्चित छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संसद भवनमा प्रवेश गर्दै।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' संसद भवनमा प्रवेश गर्दै।


ट्रेन्डिङ पोस्ट

Ncell