
भक्तपुरः कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले भरतपुरमा मतपत्र च्यातिएको सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नरहेको बताएका छन्।
भक्तपुरमा आयोजित साक्षात्कारमा मन्त्री नायकले निर्वाचन आयोगले कानुन बमोजिम गरेको निर्णयमाथि सरकारको कुनै हस्तक्षेप नभएको बताएका हुन्।
उनले भरतपुरमा माओवादी नेतृ रेणु दाहालले उम्मेदवारी दर्ता गराएलगत्तै एमालेले अतिरञ्जित गर्दै आएको आरोप लगाए।
भरतपुरको विषयलाई लिएर प्रतिपक्ष दल एमालेले संसद अवरुद्धलगायतका गतिविधि अघि बढाउनु सकारात्मक नभएको भन्दै मन्त्री नायकले आयोगले गरेको निर्णय सबै दलले स्वीकार्नुपर्ने बताए।
उनले भने,‘नबुझिने गरी मतपत्र च्यातिएपछि पुन मतदान गर्ने कानुनमै उल्लेख भएको विषय हो, विगतमा पनि एमालेका कार्यकर्ताले मतपत्र च्यात्दा पुनः मतदान गरिएका उदाहरण हामीसँग छ। अहिले एमालेले यो घटनालाई अतिरञ्जित गर्न आवश्यक छैन।’