PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

एमालेको 'प्रतिकार गर्ने' चेतावनीपछि प्रधानमन्त्री चुन्न संसद बैठक बिहान ११ बजे बस्न सकेन



मनोज सत्याल

एमालेको 'प्रतिकार गर्ने' चेतावनीपछि प्रधानमन्त्री चुन्न संसद बैठक बिहान ११ बजे बस्न सकेन

काठमाडौँ: प्रधानमन्त्री चयनका लागि आज बिहान ११ बजे बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि सर्‍यो।  

बैठक अगाडि संसदको  कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने गर्छ। बिहान १० बजे  सभामुख ओनसरी घर्ती मगरले समिति बैठक डाकेकी थिइन्। 

बैठकमा सहभागी माओवादी केन्द्रका सांसद् रामनारायण बिडारीका अनुसार एमालेले भरतपुर प्रकरणलाई लिए बैठक चल्न नदिने, चलाए प्रतिकार गर्ने चेतावनी दिएको थियो। 

'हामीले तपाईँहरुले जुन विषयमा अवरोध गर्नुभएको छ, त्यो विषयलाई संवैधानिक निकाय निर्वाचन आयोगले टुङ्ग्याइसक्यो भनेर भन्यौँ,' बिडारीले सञ्चारकर्मीहरुलाई भने, 'तर भानुभक्त ढकालजीले प्रतिकार गर्छौँ भन्नुभयो।' 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेपछि  सभामुखले शीर्ष नेताको बैठक डाकेकी थिइन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', भावी प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवासहित एमालेका तर्फबाट माधव नेपाल, झलनाथ खनाल उपस्थित थिए। तर एमाले अध्यक्ष केपी ओली भने बैठकमा गएनन्। 

ओली उपस्थित नभएपछि सभामुखले सूचना टाँस गरेर संसद बैठक ३ बजेका लागि स्थगित गरेको सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा 'बबिन' ले जानकारी दिए। 


बैठकअघि सहमति जुटाउन सभामुखले दिउँसो २ बजे शीर्ष नेताहरुको बैठक डाकेकी छिन्। 

एमालेको शनिबारको स्थायी समिति बैठकले जारी निर्वाचन प्रक्रिया अघि बढ्न नदिने निर्णय गरेको थियो। 

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाको एकल मनोनयन परेको छ। देउवाको पक्षमा सहज बहुमत जुटेको छ। कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलका गरी देउवालाई ३११ सांसद्को समर्थन छ।

प्रधानमन्त्री निर्वाचित हुने निश्चित हुँदा पनि राजनीतिक सहमतिबाट सदनको अवरोध नहटेसम्म प्रधानमन्त्री चयनको प्रक्रिया भने अनिश्चित छ।

यस्तो छ आजको संसद बैठकको कार्यसूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell