तम्घासः निर्वाचन कार्यालयले बदर मत कम गर्न गुल्मीको विकट गाउँ अर्खाबाङ्मा नमुना मतदान गरेको छ। अत्यन्तै विकट र मतदान केन्द्रका लागि कठिन मानिएको मालिका गाउँपालिकाको अर्खबाङ् मतदान केन्द्रमा नमुना मतदान गरिएको हो।
नमुना मतदानमा १०२ मतदाता सहभागी भएकामा खसेको मतमध्ये नौ मत आंशिक र एक मत पूर्ण रुपमा बदर भएको थियो। निर्वाचन कार्यालयले गत साता सत्यवती गाउँपालिकाको हँसरामा पनि नमुना मतदान गरेको थियो।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धबृद्धाहरुको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो।
स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो।
गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानमा नमुना मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन कार्यालयले जनाएको छ।रासस