काठमाडौँ : गएको शुक्रबार काठमाडौँको म्हेपीबाट ३२ लाख रुपैयाँ लुट्ने पाँच जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ।
काठमाडौंका विभिन्न स्थानबाट सरोज श्रेष्ठ, तारा बोहोरा, सुजन अधिकारी, ज्ञानहरी पुन र अन्जन थापालाई पक्राउ गरिएको सोह्रखुट्टे वृत्तका प्रमुख डिएसपी सौमेन्द्र राठौरले जानकारी दिए।
लुटेराहरुको साथबाट प्रहरीले साढे २ लाख रुपैयाँ मात्र बरामद गरेको छ।
लुटमा संलग्न अन्य केही व्यक्ति भने पैसा लिएर फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो ३ बजे एनएमबी बैंकबाट ३२ लाख रुपियाँ निकालेर हिँडेका जग्गा व्यापारी रोशन बोगटीको साथमा रहेको ३२ लाख रुपैयाँ बा ८२ प ४५२५ नम्बरको कालो पल्सर बाइकमा आएकाहरुले लुटेका थिए।
पैसा लुटिने व्यक्ति र लुट्नेहरुबीच पहिलेदेखि नै चिनजान भएको र आपसी केही विवादको कारण पैसा लुटिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।