काठमाडौंः स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम भएको बताएका छन्।
नौमहिने कार्यकालको अन्तिम दिन आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताए।
उनले भने, ‘‘स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रालय आउँदै गर्दा संविधान जारी भइसकेको तर सोअनुरुपको नीतिगत, कानुनी र संरचनागत व्यवस्था बनेको अवस्था थिएन। औषधि निःशुल्क वितरण गरिने घोषणा गरिएको थियो तर दुई वर्षदेखि औषधि खरिद हुन सकेको थिएन। थुप्रै नीतिको अभाव थियो भने बनेका नीति, निर्देशिकाको पनि प्रभावकारी कार्यान्वयनमा चुनौती थियो।’
थापाले यसबीचमा मन्त्रालयका सम्पूर्ण समूह र सहयोगी समूहको सहयोगमा सबै अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रसम्म अनिवार्य फार्मेसी राख्ने व्यवस्था गरिएको बताए।
उनका अनुसार मन्त्रालयले नौ महिनाको अवधिमा पहिले अड्किएका र नयाँ पुराना गरी झन्डै २० वटा नीति नियम, नियमावली, ऐन, नियम संशोधन र नयाँ निर्माणगरिएको छ।
मदिरा नीति, मदिरा ऐन, अपाङ्गता नीति, राष्ट्रिय स्वास्थ्य विधेयक, स्वास्थ्य बिमा विधेयक, प्रजनन् स्वास्थ्य विधेयक, स्वास्थ्य संस्था गुणस्तर प्राधिकरण ऐन, औषधि ऐन संशोधन, स्वास्थ्य सेवा ऐनको संशोधन, खोप ऐन पारित भई नियमावली बन्दै गरेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, मानव अङ्ग प्रत्यारोपण नियमावली, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका, राष्ट्रिय आयुर्वेद नीति, चिकित्सक परिचालन निर्देशिका संशोधन, आँखा स्वास्थ्य नीति नीति, एम्बुलेन्स निर्देशिका, प्रयोगशाला निर्देशिका, नेपाल मेडिकल काउन्सिल ऐन संशोधन, मानसिक स्वास्थ्य नीति र अस्पताल फार्मेसी निर्देशिका पनि मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनका चरणमा छन्।
नयाँ आउने नेतृत्वलाई थालिएका राम्रा कामको निरन्तरता दिन आग्रह गर्दै थापाले इमान्दारीपूर्वक काम गरेमा परिर्वतन हुन समय नलाग्ने अनुभव आफूले सिकेको बताए। रासस