PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

एक 'भिआइपी अभियुक्त'को रवाफिलो अदालत यात्रा



सविन ढकाल

एक 'भिआइपी अभियुक्त'को रवाफिलो अदालत यात्रा

काठमाडौं : आइतवार बिहान साढे १० बजे विशेष अदालतको गेट नजिकै एउटा गाडी रोकियो। केही सुरक्षाकर्मीसँगै एक अधवैशे ओरालिए।सुरक्षाकर्मीले समातेर विशेष अदालतमा पुर्‍याइएकाहरु भन्दा यिनी फरक थिए - चिटिक्क सजिएका।

यहाँ आइपुग्दा त्यस्ता अभियुक्तहरुको अनुहार मलिन देखिन्थ्यो। मिडियाबाट तर्किन्थे। अनुहार मिडियाका क्यामरामा कैद नहोस् भन्ने चाहना हुन्थ्यो धेरैमा। त्यसैले कोही अनुहार लुकाउँदै सुरक्षाकर्मीको गाडीबाट उत्रिन्थे। तर, यिनी चिटिक्क परेको कोट लगाएर आएका थिए र मिडियामा आफ्ना कुरा राख्न एकदमै आतुर।

चम्किलो सेतो सर्ट र कोटमा ठाँटिएका उनी अरु कोही नभइ आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा थिए। तीन जिल्लाका सिडियो भएर प्रहरी प्रशासन आफ्नो नियन्त्रणमा हाँकेका शर्मालाई केही सुरक्षाकर्मीले समाएर ल्याएका थिए। राज्यले उठाउन बाँकी ३० अर्ब रुपैयाँ राजश्वमा २१ अर्ब छुट दिएपछि अख्तियारले शुक्रवार यिनलाई पक्रेको थियो।
 
अख्तियारको सुरक्षा टोलीले उनलाई नबोल्नु भन्दै  रोक्न खोज्यो। तर, हामीले प्रश्न राखेपछि उनी बोल्न आतुर भइहाले। उनले आफूलाई पक्राउ गर्ने विधि र नियम उल्लङघन भएको दलिलमात्र गरेनन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरुद्धै खनिए।

करिब २ घण्टा विशेष अदालतमा समय थपको लागि बिताएर शर्मा बाहिरिँदा मिडियाको सङ्ख्या ह्वात्तै बाढिसकेको थियो। अरु झै मिडियासँग हच्चिएनन् उनी, बोल्नमै केन्द्रित भए।

पत्रकारलाई नमस्कार गर्दै उनले आफ्ना कुरा राखे। देशको राजश्व लुट हुनेगरी भ्रष्टाचारको अभियोगमा अख्तियारबाट अदालतमा ल्याइएका उनी फोटो सेसनको मुडमा देखिए। 'खिच्नुहोस्। भयो त ?' भन्दै क्यामरासामु आफुलाई एक्सपोज गराइरहे। भ्रष्टाचारको यतिठूलो अभियोगमा समातिएका शर्माको अनुहारमा कुनै 'लाज' र 'डर' देखिएन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell