PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रधानमन्त्रीको कुर्सी र देउवाबीच कम्तिमा दुई दिनले बढ्यो दुरी



मनोज सत्याल

प्रधानमन्त्रीको कुर्सी र देउवाबीच कम्तिमा दुई दिनले बढ्यो दुरी

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट कम्तिमा पनि दुई दिनका लागि रोकेको छ। प्रधानमन्त्री निर्वाचनको प्रकाशित कार्यतालिका अनुसार आइतबार ११ बजेको संसद बैठकबाट देउवा प्रधानमन्त्री चुनिने पर्ने हो। 
शनिबार प्रधानमन्त्री पदका लागि देउवा एक्लैको उम्मेद्वारी परेको थियो। उनको पक्षमा बहुमत सांसद समेत जुटिसकेको छ।

तर, प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका नै प्रभावित गर्ने गरी कम्तिमा पनि दुई दिन देउवालाई प्रधानमन्त्री बन्नबाट रोकेको छ। एमालेकै कारण संसद बैठक मंगलबार १ बजेसम्मका लागि सरेको छ। 

कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार एमालेका नेताहरुले प्रमुख दलहरुको बैठकमा 'हामीलाई पनि उम्मेद्वार हुने बाटो दिनुहोस्', भनेका थिए। 

तर, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आफूहरुले उम्मेद्वारी दिने समय नमागेको बताए। अनि आफ्नै घुमाउरो शैलीमा खतिवडाको भनाई पनि पुष्टि गरिदिए। उनले भने - 'उम्मेद्वारी दिन पाउँ भनेको छैन। तर यदि कोही उम्मेद्वार हुन चाहन्छ भने उम्मेद्वारी दिन पाउने व्यवस्था गर्नुपर्छ।'

नेकपा एमालेले संसदमा सभामुखले राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री चयनका लागि प्राप्त पत्र पढेर सुनाउने परम्परा मिचेको आरोप लगाउँदै आएको छ। अनि उसले सूचना मार्फत् प्रक्रिया सुचारु गर्ने विषयमा असहमति राख्दै आएको छ। 

शुक्रबार सभामुखले सूचना मार्फत् महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेकी थिइन। लगत्तै निर्वाचनको कार्यतालिका प्रकाशित भएको थियो।

नेपाली कांग्रेसले भने संसदको बैठक सभामुखले नराखेकोमा आपत्ति जनाएको छ। कांग्रेस सांसद रमेश लेखकले सभामुखले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका आएको अवस्थामा संसद बैठक रोकिनु उचित नभएको बताए।

'अन्यौलतामा राख्नु ठीक होइन, हाउस सञ्चालन हुनुपर्थ्यो', उनको जिकिर छ।

संसदको बैठक अब मंगलबार दिउँसो १ बजे बस्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell