काठमाडौंः ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन्।
आइतबार आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री शर्माले समयभन्दा तीन महिना पहिले आयोजना सम्पन्न गरे आकर्षक पुरस्कारको व्यवस्था गरिने बताएका हुन्।
मन्त्री शर्माले भने, “मेरो एवम् सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउँछु, सहजीकरण गर्छु । तर आयोजना तोकिएको समयभन्दा तीन महिना पहिले सम्पन्न हुनुपर्छ । आयोजनालाई एक अर्ब पुरस्कारको व्यवस्था गरिन्छ।”
स्वदेशी लगानी र सीपमा अगाडि बढेको आयोजनाको कुल क्षमता ४५६ मेगावाट रहेको छ। आयोजनाको हाल करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। कुल आठ किलोमिटर लामो सुरुङमध्ये ८०० मिटर मात्रै बाँकी रहेको छ। बाँध तथा अन्य भौतिक संरचना निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि वर्षात्को समयमा भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ। आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड भएपनि भूकम्प र नाकाबन्दी तथा अन्य कारणले गर्दा बढेर ४१ अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ। विसं २०७५ असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। रासस