२०१७ जून २ तारिख अपरान्ह ०२:१२ बजे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सामाजिक सन्जाल ‘ट्विटर’मा यस्तो ‘ट्विट’ गरे -
लेखमा पत्रकार त्रिभुवनचन्द्र वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाएर त्याग गर्न सुझाव दिएका थिए। त्यो सुझाव पढेर गदगद भएका रामचन्द्र पौडेलले त्यसलाई रिट्विट गरे। त्यतिमात्रै होइन, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनले देउवासँग पार्टी एकताको दुहाई दिँदै देउवालाई सच्चिने सुझाव दिएर एकपटक फेरि त्यागको भीख मागे। त्यतिबेला देउवाले कुनै जवाफ दिएनन्। ‘मागेर राज्य पाइँदैन’ देउवाको मौन संकेत यति नै थियो।बरिष्ठ पत्रकार त्रिभुवनचन्द्र वाग्लेको विश्लेषणात्मक पठनिय लेख https://t.co/UzRtIU2Bvi
— Ram Chandra Paudel (@NcPaudel) June 2, 2017
जस्तो कि वरिष्ठ पत्रकार सुवास ढकालले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन, ‘देउवा सच्चिनु पर्यो रे। देउवाको एमालेकरण गर्न खोज्ने नेताहरुलाई शुभकामना। कांग्रेस माओवादीमा विलिन भयो भन्ने मित्रहरुसँग प्रश्न : गिरिजाबाबुले एमाओवादीलाई मूलधारको राजनीतिमा ल्याएर गलत गरेका हुन् भने शेरबहादुर अर्का गलत हुन्। वामदेवले थाङ्नामा सुताएको नबिर्सौ।'
अहिलेको इस्सू यति नै हो। एमालेका अध्यक्ष केपी ओली कांग्रेस सभापति देउवासँग बिच्किएका छन्। वामपन्थी विचारधाराका ‘राष्ट्रवादी’ शक्तिहरुलाई आफनो सरकारको छातामुनि एकत्रित गरेर ‘राष्ट्रघाती’हरुलाई किनारा लगाउने उनको सपना तुहिएको छ। माओवादीसँग नेपाली कांग्रेसका नेताहरुले जति संगत गरेका छन्, त्यति एमालेहरुले कल्पना पनि गरेका छैनन्।
जून ३ तारिखका दिन प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको उम्मेदवारीका प्रस्तावक थिए निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। समर्थकमा रामचन्द्र पौडेल एक नम्बरमा थिए र गठबन्धनमा संलग्न विजयकुमार गच्छदार लगायतका नेताहरु थिए त्यसपछि।
शक्ति। नेपाली जाति शक्ति पिपासु छ। राज्य शक्तिको उपभोग र सुखभोगमा विश्वास गर्दछ यहाँको प्रत्येक मानिस। मानिसको कद जति अग्लो हुन्छ, त्यही हिसाबले ऊ शक्तिको खेलमा रमाउँछ। रामचन्द्र पौडेल लामो समयदेखि शक्तिको त्यही सर्वोच्च खेलमा लागेका छन्। उनी खेलको रिंगमा पस्नै सकेका छैनन्। अहिलेसम्म उनले कुनै ‘रिवार्ड’ पाएका छैनन्।
एक समय थियो जब नेपाली कांग्रेसमा ‘राशश’ थियो। राशश अर्थात् रामचन्द्र, शैलजा र शेरबहादुर। यो चक्रमा अरु कोही पनि शामेल थिएन। त्यतिबेला कांग्रेसका ‘नेतात्रय’ अर्थात् गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादपछि सक्रिय उत्तराधिकारित्वको अवधारणा थियो राशश।
राजनीतिमा नेता त्यही हुन्छ जसले खतरा मोल्न सक्दछ। अघिल्ला नेतात्रयमा गिरिजाप्रसादले पहिले गणेशमान र त्यसपछि कृष्णप्रसादलाई किनारा लगाए। पछिल्ला नेतात्रय कहिल्यै सक्रिय हुन पाएनन्। शैलजाको दुःखद अन्त्य भयो। रामचन्द्र पौडेलका लागि प्रधानमन्त्री पद मृगमरीचिका साबित हुँदैछ। शेरबहादुरले पार्टीभित्र गिरिजाप्रसाद कोइरालासँग प्रतिद्वनद्विता गर्ने खतरा मोले र नेता भए। उनी निर्वाचित सभापति भए। शेरबहादुर शक्तिलाई खेलाउने कलामा दक्ष छन्। उनका समकालीन अन्य नेताहरुलाई शक्तिले खेलाउने गरेको देखिएको छ।
शेरबहादुर देउवाको जीवन त्यतिबेलामात्र रोचक हुन्छ जब उनी शक्तिको खेलमा लाग्दछन्। कांग्रेसभित्र विभिन्न गुट र समूहको उपस्थिति छ। उनीहरु सभापति देउवा सच्चिनुपर्ने बताउँदैछन्। यो पटक देउवाले एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ‘कामरेड’ केपी शर्मा ओलीलाई दश महिनाभन्दा बढी सरकारको नेतृत्वमा बस्न दिएनन्। ओलीमा चढ्दै गएको पन्चायती राष्ट्रवादको मात र अनावश्यक दर्पको प्रदर्शनले जनता आजित भएका थिए। देउवाले कतिबेला उनी बसेको ‘हटसिट’ हल्लाइ दिए, बाठा मानिएका ओलीले त्यसको पत्तै पाएनन्।
प्रधानमन्त्री स्व.सुशील कोइरालाले एमालेकै समर्थन र सहभागितामा सरकार चलाएका थिए। संविधान निर्माणको नेतृत्वमा कोइराला, ओली र प्रचण्डको एकाधिकार थियो। संविधान जारी भइसकेपछि कांग्रेसले एमालेसँग मिलेर सरकार चलाउन इन्कार गर्यो। दुई ठूला दल मिलेर सरकार चलाउनु लोकतन्त्र अनुकूल हुने थिएन। कांग्रेस छुट्टिएपछि एमालेले सरकार बनायो माओवादीसँग मिलेर। दुई वामपन्थी पार्टी मिलेर बनेको यो सरकार पूरै समय टिक्नुपर्ने थियो। तर, प्रधानमन्त्री ओलीले माओवादीलाई उनीहरुको हैसियत देखाउन थालेपछि गठबन्धन टुट्यो। प्रधानमन्त्रीको दर्पपूर्ण व्यवहारले दिक्क भएका माओवादीले सरकार छाडे।
नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सहयोगीहरुको टीमले दुई पार्टीबीच सरकार सन्चालनका नीति तय गर्योा। कांग्रेसका विमलेन्द्र निधिले सरकारमा पार्टीको प्रतिनिधित्व गर्ने भए। उनी उप–प्रधान तथा गृहमन्त्रीमा नियुक्त भए। माओवादी केन्द्र र कांग्रेसका वीच सरकार संचालनमा विगत दश महिनासम्म कुनै असहमति भएन।
यतिबेला जब शेरबहादुर देउवा सरकार निर्माणको तयारीमा लागेका छन्, एमालेका अध्यक्ष ओली असन गल्लीमा पायाँको खेल खेलिरहेका जुवाडेहरुसँग च्याँखे दाउमा रमाएका छन्। निर्वाचन आयोगको निर्णयको प्रतिक्रिया संसदमा देखिएको कारण यही हो। कोमल मन र भावुक हृदयका नेपाली जनताले यो कुरा थाहा पाउनै सकेका छैनन्, लोकतन्त्रको मर्यादा कसले मिचेको हो? यी भावुक हृदय र कोमल मन भएका जनता रावण आएपनि स्वस्ति गर्न र राम आए पनि स्वस्ति गर्न अभिशप्त छन्।
यसलाई भन्छन्, लीला राजनीति। यस्तो राजनीतिलाई हल्लाले निर्देशित गर्दछ। देशको हाइ प्रोफाइल पदाधिकारीहरु रिटायर हुने बेलामा विभिन्न हल्ला चलाउँछन्। विडम्बनाको उदाहरण दिन्छन्। हराउँछन्। विगत सात दशकदेखिको निरन्तर नेपाल मन्थनबाट केही उपलब्ध हुन सकेको छैन। यसलाई राजनीतिक प्रतिद्वन्द्विता भनिएको छ।
नेपाली कांग्रेस र माओवादीबीचको सहकार्य उसैबेला आवश्यक थियो, जतिबेला सरकार र माओवादी विद्रोहीले बृहत् शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए। त्यतिबेला माओवादीलाई कांग्रेससँग सहकार्य गर्न रोक्ने व्यक्ति बाबुराम अहिले उपेन्द्र यादवको मसाल बोकेर हिंडेका छन्। हो, ती बाबुराम नै हुन्, जो सँधै कांग्रेस र माओवादीबीच सहकार्यको विरुद्ध थिए। दश वर्ष लामो कचिंगलपछि देउवाले माओवादीलाई कांग्रेसको नजिक ल्याएका छन्। राज्यको रुपान्तरण गर्ने प्रक्रिया यही बेला शुरु भएको छ। आशा गरौं, अहिले सहमतिमा आएका कांग्रेस–माओवादीका नेताहरुले इच्छा शक्तिको प्रयोग गरे भने जनताले चाहे अनुसार, सत्य–तथ्यको खोजी पनि हुनेछ। रामनामी ओढेर देशको समय, स्रोत र साधनको अपव्ययमा लागेका माफियाको अनुहार पनि टेलिभिजनको स्क्रिनमा देख्न पाइनेछ।