
काठमाडौं : सक्षम, इमान्दार र कर्तब्यनिष्ठ राष्ट्र सेवक कर्मचारीलाई सम्मान गर्न हरेक वर्ष हुँदै आएको इन्ट्याग्रिटी आइडल २०१७ को मनोनयन खुला भएको छ।
नागरिक स्तरबाट सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गर्न एकाउन्ट्याविलिटी ल्याबले सन् २०१४ देखि इन्ट्याग्रिटी आइडल सम्मान अभियान सुरु गरेको हो।
आगामी जेष्ठ ३१ सम्म खुला रहने मनोनयनका लागि आम नागरिकलाई आफूलाई चित्त बुझेका राष्ट्रसेवकलाई मनोनयन गर्न आह्वान गरिएको छ।
आफ्नो सेवामा समर्पित इमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरू कोही पनि नछुटुन् भन्ने उद्देश्यका साथ अघि बढेको अभियान भएकाले सेवाग्राहीलाई सहज सेवा प्रवाह गर्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेका राष्ट्रसेवकलाई सम्मानका लागि मनोनयन गर्न सकिने बिज्ञप्तिमा जनाइएको छ।
ल्याबका अनुसार इन्ट्याग्रिटी आइडल को आधिकारीक वेव साइट बाट डाउनलोड गरेर पनि मनोनयन फारम भर्न अथवा सिधै [email protected] भरेर मा पनि पठाउन सकिनेछ।
मनोनयन गरिएका फारमहरु जेष्ठ ३१ गते भित्र पठाउनुपर्ने ल्याबले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय संयोजक रहने तथा पूर्व सचिव जीवनप्रभा लामा, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका भरतबहादुर थापा र पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहको समितिले अन्तिम छनौट गर्ने ल्याबले जानकारी दिएको छ।