काठमाडौं : चलचित्र उमंगको निर्देशन गरेका निर्देशक शिव शर्माले नयाँ चलचित्र कालेदाइ बनाउने घोषणा गरेका छन्।
आफ्नी छोरी सिद्धिका शर्मा दुई वर्ष पुगेको जन्मदिनकै दिन आज उनले फिल्मको उद्घोष गरेका हुन्। शर्माले चलचित्र निर्माणका लागि चलचित्र विकास वोर्डमा नाम दर्तासमेत गराइसकेका छन्।
चलचित्रका निर्माता प्रकाश न्यौपाने हुन भने सिद्धिका फिल्मस् र राम्जाली प्रोडक्सनको संयुक्त ब्यानरमा चलचित्र बन्न लागेको हो।
चलचित्रमा इन्द्र राम्जाली, अनु पराजुली, सुरेन्द्र केसी, सुजित थापा, सरु भट्ट, सुर्य चन्द, कविता शर्मा, राम थापा, गीता अधिकारी, शिशिर भण्डारी, गोविन्द श्रेष्ठ, चक्रध्वज भण्डारी, गीता नेपाल जनक बर्तौलालगायतका कलाकारको अभिनय रहनेछ।
चलचित्रको छाँयांकन आगामी असार ५ गतेदेखि सुरु हुनेछ। काभ्रे, काठमाडौं, चितवनमा चलचित्रको छाँयांकन गरिने निर्माण नियन्त्रक शंकर बस्नेतले जानकारी दिए। यो चलचित्रले गण्डक क्षेत्रको ग्रामिण परिवेशलाई बोक्नेछ।
चलचित्रमा प्रेम र हाँसो दुवै समावेश हुने निर्देशक शर्माले बताए।
निर्देशक शर्मा नेपाल टेलिभिजनबाट हरेक आइतबार प्रसारण हुने हास्य टेलिचलचित्र हाक्का हाक्कीको चर्चित पात्र तथा इपिसोड निर्देशक, चलचित्र नृत्य निर्देशक तथा म्युजिक भिडियो निर्देशकसमेत हुन्।