
सिङ्गापुरः दक्षिण कोरियाले क्षेप्यास्त्रलगायत अन्य आणविक हातहतियारको प्रहारबाट बच्ने शक्तिशाली प्रतिरक्षा व्यवस्था–टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (टिएचएएडि–थाड) यान्त्रिक प्रणाली जडान गरेकोमा रुसले आपत्ति जनाएको छ।
सिङ्गापुरमा आयोजित १६ औं साङ्ग्रीला वार्तामा सहभागी भएका रुसी प्रतिरक्षा मन्त्रालयका उपमन्त्री लेफ्टिनेन्ट जनरल अलेक्ज्यान्डर फोमिनले दक्षिण कोरियाले यस क्षेत्रमा थाड जडान गर्नाले कोरियाली प्रायद्वीपसहित समग्र उत्तरपूर्वी एसियामा तनाव बढाउने भन्दै दक्षिण कोरिया र अमेरिकामाथि यसको दोष लगाएका हुन्।
थाड यान्त्रिक प्रणालीले दुश्मनको क्षेप्यास्त्रलगायत अन्य आणविक हात हतियारको प्रहार गरेमा सोबाट प्रतिरक्षा गर्न सकिने मात्र नभई आफैंले पनि शक्तिशाली क्षेप्यास्त्रहरु हान्न सक्ने दाबी उनले गरेका छन्।
उनले यस प्रणालीलाई बिशुद्ध प्रतिरक्षात्मक कदम मात्र मान्न नसकिने बताउँदै दक्षिण कोरियाको यस कदमले रुसलाई पनि प्रत्यक्ष चेतावनी दिएकोले रुस सतर्क रहनु परेको बताएका छन्।
अमेरिकाको परामर्श र सहयोगमा दक्षिण कोरियाले आफ्नो भूमिमा थाड प्रतिरक्षा प्रणाली जडान गरी सक्रिय पारिसकेको औंल्याउँदै शक्तिशाली क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई विश्वब्यापीकरण गर्ने अमेरिकाको भित्री अभिलाषा रहेको उपमन्त्री फोमिनको आरोप छ।रासस /योन्हाप