काठमाडौं : वैशाखको दोस्रो साता स्थानीय तहको निर्वाचन विथोल्ने आशंकामा गुन्डा नाइके दीपक मनाङ्गे र चक्रे मिलन पक्राउ परे। सार्वजनिक अपराधको अनुसन्धानका लागि समय थप गरी दुई साता थुनामा रहेका उनीहरु दैनिक हाजिरी हुनपर्ने गरी छुटेका छन्।
मनाङ्गे र मिलन बाहिरिन नपाउँदै प्रहरीले सोमवार बिहान सुन्धारा र चाबहिल क्षेत्र बनाई गुन्डागर्दी गर्दै आएका राजु गोर्खालीलाई पक्रियो। उनीसँगै उनका गुरु भनिने देवेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गर्यो। उनीहरु अब केही दिन काठमाडौं महानगरीय प्रहरी परिसरको पाहुना हुनेछन्।
काठमाडौंमा चुनाव सकिसक्यो। त्यसैले मनाङ्गे र मिलन बाहिरिए। तर पनि गोर्खाली समातिए। गुण्डा पक्राउ महानगरीय प्रहरी परिसरका लागि सामान्य बनेको छ यतिखेर। अर्थात्, गुण्डाहरु समातिने र छुट्ने नियमित आकस्मिकता हो।
बालुवाको ठेक्कादेखि गुन्डागर्दीसम्म सामेल गोर्खाली र केसीलाई प्रहरीले पक्राउ गर्नुको एउटै उद्देश्य प्रस्ट छ - तर्साउनु।
'हामीले छोडेका माछाहरु कति वजनका भए बेला बेलामा ल्याएर जोख्दै त गर्नुपर्यो नि,' महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले भने।
गुण्डा समात्ने र छाड्ने इस्युबारे उनले थप प्रस्ट्याए – 'राज्यले उनीहरुको निगरानी गरिरहेको छ भन्ने साइकोलोजिकल ट्रिटमेन्ट आवश्यक भएर हो।'
जोशी महानगरीय परिसरमा आएयता १ सय ६० जनाको सूची बन्यो र ६० भन्दा बढी पक्राउ परे। उनीहरुलाई केरकार गरियो र छाडियो पनि। परिसरको झ्यालखानामा अहिले पनि २० जना गुन्डाहरु छन्। स्वयम्भू आधार क्षेत्रमा गुन्डागर्दी गर्ने सुकबहादुर तामाङ बाघे, मानबहादुर तामाङ लगायतका गुन्डा प्रहरीको 'माछा तौलिने' क्रममै छन्। पक्राउ परेकाहरुलाई सार्वजनिक अपराधमा मुद्दामा अदालबाट म्याद थप गरी अनुसन्धान गरिन्छ।
भटाभट पक्राउ परिरहेका यस्ता गुण्डालाई प्रहरीले तौलिन्छ र छाड्छ। पक्राउको क्रम तीब्र हुन थालेपछि कतिपय नाम चलेकादेखि टोले गुन्डासम्म राजधानी नै छाडेर भागेको प्रहरीको दावी छ।