
नयाँदिल्लीः भारतको उत्तर प्रदेशमा सोमबार राति बस र ट्याङ्कर आपसमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
स्थानीय समय अनुसार सोमबार बिहान १ बजे उत्तर प्रदेशको बरेली जिल्लामा निर्माणाधीन राष्ट्रिय राजमार्ग नं. २४ मा यात्रु बस र विपरित दिशातिरबाट आइरहेको डिजेल बोकेको ट्याङ्कर आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनापछि घटनास्थलमा भीषण आगलागी भएको र जलेर उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
उत्तर प्रदेशको गोन्डा जिल्लास्थित स्टेसनतर्फ गइरहेको बसमा दुईजना चालक, एक सहचालक तथा ३८ जना यात्रु थिए।
दुर्घटना मध्यरातको समयमा भएको र प्रायः यात्रु निदाइरहेकाले केहीले मात्र भागेर ज्यान बचाउन सकेका थिए। घाइतेहरुको बरेली जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे छानविन गर्न राज्यले एक अनुसन्धान समिति गठन गर्ने आदेश दिएको छ।
सरकारी तथ्याङ्कअनुसार भारतमा हरेक दिन सवारी दुर्घटनामा चार सय भन्दा बढीको मृत्यु हुने गरेको छ।रासस/सिन्ह्वा