PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

कतारसँग चार देशले नाता तोड्दा, नेपाली अर्थतन्त्रमा चोट, नेपालीको रोजगारी के होला?



उमेश पौडेल

कतारसँग चार देशले नाता तोड्दा, नेपाली अर्थतन्त्रमा चोट, नेपालीको रोजगारी के होला?

काठमाडौं : विगत ३६ वर्षदेखि कायम खाडी मुलुकहरुको एकता भंग भएको छ। साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले कतारलाई एक्ल्याउँदै नाता तोडेका हुन्। कतारले आतंककारीलाई सहयोग पुर्याअएको आरोपसहित चार देशले सबै कुटनीतिक सम्बन्ध अन्त्यको समेत घोषणा गरेका छन्।
 
सोमवार बिहान साउदी अरबको स्टेट न्युज एजेन्सीले खाडी क्षेत्रलाई आतंकबाद र मुस्लिम अतिवादमा फस्नबाट जोगाउन ३६ वर्षदेखिको गल्फ स्टेट युनियन तोडिएको र कतारसँगको कुटनीतिक सम्बन्ध भंग भएको घोषणा गरेको छ।
 
साउदी अरेविया, युएई, बहराइन, ओमान र कतार मिलेर क्षेत्रीय ‘अलाइन्स’- ‘गल्फ कोअपरेसन काउन्सिल’ को स्थापना गरेका थिए। इजिप्ट काउन्सिलको सदस्य नरहे पनि नजिकको मित्र देश थियो। अब कतारसँग कुटनीतिक सम्वन्ध ओमानकोमात्र बाँकी छ।
 

अघिल्लो महिना देखि बढेको तनाव

अघिल्लो महिना साउदी, युएई, बहराइन र इजिप्टले कतारका धेरैजसो मिडियामाथि सेन्सर गर्दै आफ्नो देशमा ‘ब्लक’ गरेका थिए। जसमा कतारको सरकारद्वारा सञ्चालित समाचार च्यानल अल जजिरा लगायत सरकारले लगानी गरेका अन्य आउटलेट थिए। कतारका आमिर शेख तमिम अल हमाद अल थानीले आफ्नो मुलुकबारे दिएको ‘नकारात्मक’ अभिव्यक्ति प्रचार प्रसार गरेको भन्दै सञ्चार माध्यममा प्रतिबन्ध लगाइएको थियो। 
 
तर, कतारले भने आफ्नो मुलुकका सञ्चार माध्यम छिमेकीहरुको वेव साइट ह्याक गरेर साउदीले ‘फेक न्युज’ प्रकाशित गरेर आफुमाथि लान्छना लगाएको बताउँदै आएको थियो।
 
साथै कतारी शेखले इरानलाई इस्लामिक पावर भनेर सम्बोधन गर्दै आएका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना गरेका थिए। अरब ‘एलाइन्स’  टुट्ने गुह्य यही नै भयो। 

अरबमा साउदी र इरानबीच क्षेत्रीय सुपरपावरमा को अगाडि हुने भन्ने होड चलिरहेको छ। यसअघि साउदीले इरानको परमाणु कार्यक्रमलाई लिएर चिन्ता व्यक्त गरेको थियो। परमाणु कार्यक्रम तत्काल बन्द गर्नुपर्ने उसको धारणा थियो। साउदीले इरानलाई रुससँग मिलेर सिरिया, लेबनान र यमनमा आफ्नो प्रभुत्व जमाउन खोजेको आरोप लगाएको छ। 
 
हालैमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबियामा खाडी क्षेत्रका ५५ जना मुस्लिम नेतालाई सम्बोधन गर्दै कतारलाई आतंकबादको नेतृत्व गरेको आरोप लगाएका थिए। आतंकबादी संगठन  ‘आइएस’लाई कतारको सहयोग रहेको उनको दावी थियो। कतारले ‘लिड’ गरिरहेको ‘कम्ब्याट टेरोरिज्म’लाई रोक्न लागि साउदीले भूमिका खेल्नुपर्ने धारणा समेत उनले राखेका थिए।
 
ट्रम्प अमेरिका फर्किएसँगै सम्बन्धमा थप चिसोपना आयो। र, सोमबार एकाएकै छिमेकी देशले कतारसँग सम्बन्ध तोडेको घोषणा गर्न थाले। यसैबीच युएईले कतारका कुनै पनि नागरिकलाई दुई साता भित्र आफ्नो देश छाड्न समेत उर्दी जारी गरिसकेको छ। युएईले कतारले आफ्नो राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधि गरेको र यसअघिका सन्धि सम्झौताको समेत उल्लङ्घन गरेको आरोप लगाएको छ। युएईले कतारसँगको हवाईसेवा पनि बन्दको घोषणा गरिसकेको छ।
 
त्यस्तै बहराइनको परराष्ट्र मन्त्रालयले राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै कतारसँगको कुटनीतिक सम्वन्ध भंग गरेको छ। बहराइनले कतारी कूटनीतिक अधिकारीलाई ४८ घण्टाको समय दिएर देश छोड्न भनेको छ भने कतारसँग जोडिएको समुद्री बन्दरगाह र हवाई क्षेत्र २४ घण्टाभित्र बन्द गर्ने निर्देशन दिएको छ। उसले कतारले आतंककारी समूह आइएस तथा अन्य संगठनलाई फाइनान्सिङ गरेको आरोप समेत लागएको छ।
 
छिमेकीहरुले एकसाथ आफुलाई एक्ल्याउने घोषणा गरेपछि कतारले आफूमाथि लगाएका सबै आरोप अनुचित र आधारहीन भएको दाबी गरेको छ। कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गल्फ राष्ट्रले गरेको निर्णय अनुचित भएको र लगाइएका सबै आरोपलाई आधारहीन भनिएको अल जजिराले जनाएको छ।
 

अमेरिकी चासो

अमेरिकालाई कतारले इरान तथा रुससँग सम्बन्ध बढाएको मन परेको थिएन। सो विषयलाई अन्यन्त गम्भीर प्रकृतिको भन्दै ट्रम्पले उनको पहिलो विदेश भ्रमण नै साउदीमा गरे। कतारको गतिविधिलाई अति 'संवेदनशील' संज्ञा दिँदै ट्रम्पले गल्फ एलाइन्स भत्काउन अरु मुलुकलाई प्रेरित गरे।

इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पले सिरिया लगायत अरब राष्ट्रमा रुस र इरानको प्रभाव कम गर्न विभिन्न हत्कण्डा अपनाएको आरोप लगाउँदै आएका थिए। उनले शुक्रवार नै अमेरिकी कुटनीति प्रभावहीन रहेको र त्यसले अरब क्षेत्रमा द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिएका थिए। 
 
कतारले सन् २०२२ को विश्वकप फुटवल खेल आयोजना गर्दैछ। जसलाई असफल बनाउन अमेरिका सुरुदेखि नै लागेको थियो। आफुले विश्वकप आयोजनाका अनेक प्रयास गरे पनि असफल भएपछि अमेरिका कुटनीतिक माध्यमबाट कतारमाथि जाइलागेको विश्लेषण समेत गरिएको छ।
 
अरब अलाइन्स टुटेको विषयमा प्रतिक्रिया दिँदै अमेरिकी विदेश मन्त्री रेक्स टेलरसनले साउदी नेतृत्वका मुलुकले सोमबार गरेको निर्णय सहि भएको बताएका छन्। उनले कतारसँग सम्बन्ध तोड्ने मुलुकलाई अमेरिकाले सहयोग गर्ने समेत बताए।
 
छिमेकीबाट एक्लिएपछि कतारको अर्थतन्त्र प्रभावित हुने विश्लेषण गर्न थालिएको छ। सोमबार दिउँसो दुई बजेसम्म शेयर बजार सात प्रतिशतले घटिसकेको छ। कतारमा पाँच लाख बढी नेपाली काम गर्न पुगेका छन्। अब उनीहरुको रोजगारी के हुने भन्ने चिन्ता समेत थपिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell