
काठमाडौंः बौद्ध विकास समिति र सम्पदा संरक्षण समितिले बौद्धस्थित बौद्धनाथ स्तूपामा एक दिनका लागि राखिएको व्यवसायिक डिजिटल डिस्प्ले हटाउन दबाब दिने भएका छन्।
बुद्ध जयन्तीका अवसरमा एक दिनका लागि मात्र राखिएको डिस्प्ले अहिलेसम्म नहटाएको भन्दै उनीहरुले त्यसलाई हटाउन दबाब दिने भएका हुन् ।
विश्व सम्पदा सूचीमा परेको बौद्धनाथ स्तूपामा यसरी व्यवसायिक डिस्प्ले राख्दा पर्यटकीय क्षेत्रमा नेपालको बेइज्जत हुने भएकाले आफूहरुले हटाउन माग गरेको सम्पदा संरक्षण समितिका सदस्य गणपतिलाल श्रेष्ठले पहिलो पोस्टलाई बताए ।
उनले डिस्प्ले हटाउन मंगलबारदेखि स्थानीयसँग मिलेर विरोध कार्यक्रम गर्ने जानकारी दिए।
पुरातत्व विभागले भने घ्यामु मेलम्ची गुठीलाई मंगलबार विहानसम्म डिस्प्ले हटाउन निर्देशन दिएको छ। गुठीले भने डिस्प्लेलार्इ जेठ २६ गतेसम्म राख्न दिन माग गरेको छ ।