PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

संसद अवरोध हटाउन एमाले तयार, यस्तो भयो सहमति



मनोज सत्याल

संसद अवरोध हटाउन एमाले तयार, यस्तो भयो सहमति

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन तयार भएको छ। एमालेले भरतपुर महानगरमा रोकिएको मतगणना सुचारु गर्नुपर्ने माग गर्दै संसदमा अवरोध गर्दै आएको थियो। 

अवरोधका कारण आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यसूची रहेको संसद बैठकसमेत बस्दै नबसी मंगलबारसम्म स्थगित भएको थियो। एमालेले अवरोध र प्रतिवादको चेतावनी दिएपछि सभामुखले संसद बैठक दुई दिन सारेकी थिइन्। 

सभामुख ओनसरी घर्तीले सोमबार डाकेको बैठकमा एमाले संसदको अवरोध हटाउन तयार भएको हो। दलहरुबीच भएको सहमति यस्तो छ-

•    मंगलबार दुई पटक संसद बैठक बस्ने 

•    पहिलो बैठकमा राष्ट्रपति कार्यालयको बहुमतीय आधारमा प्रधानमन्त्री चयन सम्बन्धी जेठ १८ गते बिहीबारको पत्र र प्रधानमन्त्री पदका लागि परेको मनोनयनबारे जानकारी गराउने 

•     नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र गरी प्रमुख तीन दलका शीर्ष नेताले सम्बोधन गर्ने। 


सभामुखले डाकेको बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन्। बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले पहिलो बैठकमा प्रधानमन्त्री र प्रधानमन्त्रीका प्रत्यासी शेरबहादुर देउवाले आगामी माघसम्म गर्नुपर्ने तीनै तहको निर्वाचनबारे प्रतिबद्धता व्यक्त गर्ने समझदारी भएको बताए।

मंगलबारको दोश्रो बैठकले भने प्रधानमन्त्रीको निर्वाचन गर्नेछ। देउवाको एक मात्र मनोनयन परेकोले देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने प्रस्तावमा मतविभाजन गराइनेछ। 

संसदमा एमालेले इस्यु बनाइरहेको भरतपुर मतगणनाको विषयलाई लिएर अवरोध हटाउनका लागि पृष्ठभूमि भने सर्वोच्च अदालतले तयार गरेको थियो। 

आजै सर्वोच्च अदालतले भरतपुरमा पुन: मतदान र मतगणना गर्ने कार्य सात दिन लागि यथास्थितिमा राख्न आदेश जारी गर्दे अन्तरिम छलफलका लागि निर्वाचन आयोगलाई डाकेको थियो। 

त्यस्तै कांग्रेस नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले पनि आजै एमाले अध्यक्ष केपी शर्मा ‌ओलीसँग संसदको अवरोध हटाउने विषयमा छलफल गरेका थिए। 

सभामुख ओनसरी घर्तिले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, सुवास नेम्वाङ, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा, राप्रपा नेताहरु दीलनाथ गिरी र कुन्तिकुमारी शाही सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell