
पोखराः स्थानीय तहको निर्वाचनमा कास्कीबाट प्रमुख पदमा उम्मेदवारी दिने नेकपा माओदवादी केन्द्रका सवैको उम्मेदवारको धरौटी नै जफत भएको छ।
निर्वाचन क्षेत्रमा खसेको मतको १० प्रतिशत मत प्राप्त गर्नुपर्ने कानुनी व्यवस्था भएकोले माओवादी केन्द्रका कुनैपनि उम्मेदवारले आवश्यक १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि धरौटी जफत भएको हो।
माओवादी केन्द्रकातर्फबाट कास्कीका पाँच स्थानीय तह मध्ये पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरकी उम्मेदवार गोमा ढकालसहित चारवटा स्थानीय तहका प्रमुखमा उम्मेदवारी दिएका सवै उम्मेदवारको धरौटी जफत भएको हो।
महानगरपालिकाको उपमेयर पदमा १ लाख १६ हजार ६ सय ९७ मत सदर भएको थियो।
माओवादी केन्द्रकातर्फबाट उपमेयरका उम्मेदवार ढकालले ८ हजार ७ सय ९६ मत प्राप्त गरेकी थिइन्। उनको यो मत कूल सदर मतको ८ प्रतिशत हो।
आवश्यक मत भन्दा २ प्रतिशत मत कम पाएका कारण उनको धरौटी जफत भएको हो।
केन्द्रीय सहमति अनुसार मेयर पदमा माओवादी केन्द्र र कांगेसबीच चुनावी तालमेल भएका कारण माओवादी केन्द्रकोतर्फबाट उम्मेदवार विश्वप्रकाश लामिछानेले आफ्नो उम्मदवारी फिर्ता लिएका थिए। तर, महानगरको उपमेयरसहित ३३ वटा वडामा उम्मेदवारी दिएको माओवादी केन्द्रले एकजना वडा सदस्यसमेत जित्न सकेन।
जिल्लाका चार गाउँपालिका मध्ये अन्नपूर्ण गाँउपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार धर्मबहादुर गुरुङ्गको पनि धरौटी जफत भएको छ।
अन्नुपूर्ण गाँउपालिकाको अध्यक्ष पदमा कूल सदर मत १० हजार ६ सय १ मध्ये गुरुङले ९ सय ८३ मत अर्थात् ९ प्रतिशत मात्र मत प्राप्त गरे।
त्यस्तै, मादी गाउँपालिकाको अध्यक्षका उम्मेदवार राधा सापकोटाको पनि धरौटी जफत भएको छ। उनले कूल सदर मत ८ हजार ९ सय ७१ को ८ प्रतिशत अर्थात् ६ सय ७६ मत प्राप्त गरिन्।
त्यसैगरी, रुपा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार निर्मला सुवेदीले ३ सय ७० मत प्राप्त गरेकी थिइन् । यो कूल सदर मत ७ हजार ९ सय ५४ को ५ प्रतिशत मात्रै थियो।
त्यसैगरी, उपाध्यक्ष पदका उम्मेदवार पुष्पराज खनालको पनि धरौटी जफत भएको छ। उनले कूल सदर मत ७ हजार ९ सय २३ मध्ये ४ सय ३० मत मात्रै प्राप्त गरेका थिए।
कास्कीको माछापुच्छ्रे गाँउपालिकाका उम्मेदवार प्रवीण अधिकारीको पनि धरौटी जफत भएको छ। उनले १ हजार २८ मत प्राप्त गरेका थिए। अध्यक्ष पदमा ११ हजार ६ सय ४७ मत सदर भएको थियो तर, उनले पाएको सदर मतको ९ प्रतिशत मात्र रहेका थियो।
जनयुद्धकालमा कास्कीमा राम्रो प्रभाव क्षेत्र बनाउन सफल माओवादीले २०६४ मा पहिलो संविधानसभाको निर्वाचनामा कास्कीका ४ निर्वाचन क्षेत्र मध्ये तीन क्षेत्रमा माओवादीले जितेको थियो ।त्यसपछि भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाटसमेत जित हासिल गरेको थियो।
दोश्रो संविधानसभा निर्वाचनमा भने कास्कीबाट माओवादीले कुनै पनि निर्वाचन क्षेत्रमा जित हात पार्न सकेको थिएन।