काठमाडौँ: कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्रीमा चयन हुँदैछन्। व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले प्रधानमन्त्रीका एकल दावेदार देउवालाई प्रधानमन्त्रीमा चयन गर्दैछ। देउवाका पक्षमा लिखित हस्ताक्षर गरेका ३११ सांसद् छन्। मनोनयन दर्तापछि पक्षमा मतदान गर्ने निर्णय गरेकासहित झण्डै दुई तिहाइको समर्थन देउवालाई प्राप्त छ।
दिउँसो १ बजे संसद बस्दैछ। उक्त बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्वोधन गर्नेछन्। सोही बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र पढेर सुनाइनेछ। भने, प्रधानमन्त्री चयनको कार्यतालिका पनि अनुमोदन हुनेछ। आजै बस्ने दोस्रो बैठकले प्रधानमन्त्री चयन गर्नेछ। दुइवटा बैठक राखी प्रधानमन्त्री चयन गर्नेमा सोमबार प्रमुख दलहरुबीच सहमति बनेको थियो।
कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देउवालाई सत्ता हस्तान्तरण गर्न लागेका हुन्। बि.स. २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा चौथो पटक प्रधानमन्त्री निर्वाचित हुने पूर्वसन्ध्यामा छन्। अन्तिम पटक उनी तत्कालीन राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन लिँदा प्रधानमन्त्री थिए। करिव १३ वर्षपछि देउवा पुनः प्रधानमन्त्री बन्न लागेका हुन्।
देउवाको पक्षमा संसद्मा कांग्रेससहित, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, अखण्ड नेपाल पार्टी, समाजवादी जनता दलको लिखित समर्थन छ। कांग्रेससहित लिखित समर्थन गर्ने सवै दलका ३११ सांसद् छन्। यस्तै, लिखित प्रतिवद्धता नभए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम लगायतका दलहरुले पनि समर्थन जनाएका छन्। अंकगणितका हिसावले देउवा करिव दुई तिहाई नजिक छन्।
संसद्मा अहिले ५९३ सांसद् छन्। जसमध्ये कांग्रेसका २०७ र माओवादी केन्द्रका ८२ सांसद् छन्। ८२ मध्ये सभामुखलाई मताधिकार रहन्न। संविधान र संसद्को नियमावली अनुसार बहुमतीय प्रक्रियबाट प्रधानमन्त्री चयन गर्न कम्तीमा २९७ सांसद् आवश्यक पर्छ। जुन सहज बहुमत देउवाको पक्षमा छ।