PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

अरबी मुलुकका समस्या सुल्झाउन कुवेतको चासो



रासस

अरबी मुलुकका समस्या सुल्झाउन कुवेतको चासो
फोटो श्रोतःaljazeera.com

संयुक्त अरब इमिरेट्सः  अरबी मुलुकहरुले कतारसँग तोडेको कुटनीतिक सम्वन्धलगायतका समस्या समाधानका लागि कुवेतले चासो देखाएको छ।

कुवेतका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका शासक अमीर शेख तामिम बिन हमाद अल थानीसँग समस्या समाधानका लागि कुराकानी गरेका छन्।

बिग्रिएको सम्बन्ध पुरानै स्थितिमा फर्काउन कुवेतले सक्दो प्रयास गर्ने र संकटकाबारेमा कतारका कुनै पनि नेता वा अधिकारीलाई मुख नखोल्न कुवेतका शासकले कतारका अमीर शेख तामिम बिन हमादसँग अनुरोध गरेका विदेश मन्त्री थानीले बताए।
 
अल–जजिरा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा विदेश मन्त्री रहमानले कतारमाथि आफ्नो मनोमानी लाद्न खोज्ने र उसको आन्तरिक मामिलामा हस्तक्षेप हुने कुनै पनि गतिबिधि कुवेतलाई मान्य नहुने पनि बताएका छन्।

इस्लामिक स्टेट(आइएस)लाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली सङ्घलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रहरुबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेकोलगायतका आरोपमा इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत सातवटा मुलुकले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका छन्।

त्यत्ति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाईमार्गका नाकाहरु प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाहरुले कतारका कुनै पनि गन्तब्यतर्फ उडान नगर्ने निर्णय लिएका छन्।

अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको छ।
 
सन् १९९१ मा अमेरिकी तथा बहूराष्ट्रिय सेना र इराकबीच भएको खाडीको युद्धपश्चात् पहिलो पटक अरबी राष्ट्रहरुबीच कल्पना नै नगरिएको यस प्रकारको चरम कूटनीतिक सङ्कट उत्पन्न भएको जनाइएको छ। रासस /एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell