PahiloPost

Mar 6, 2025 | २२ फागुन २०८१

चिनियाँ आयातनिर्यात बैंकद्वारा पोखरा विमानस्थल निर्माणका लागि ऋण उपलब्ध



रासस

चिनियाँ आयातनिर्यात बैंकद्वारा पोखरा विमानस्थल निर्माणका लागि ऋण उपलब्ध

काठमाडौंः राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ पक्षले ऋण उपलब्ध गराएको छ। 

ऋणदाता निकाय चिनियाँ आयातनिर्यात बैंकले ऋण रकम उपलब्ध गराएपछि विमानस्थल निर्माण सुरु गर्न सहज भएको हो। 

बैंकले अर्थ मन्त्रालयलाई पत्रमार्फत ऋण स्वीकृत भएको जानकारी गराएको अर्थ मन्त्रालयका उपसचिव युवराज पाण्डेले जानकारी दिए।

विमानस्थल निर्माणको अब सबै प्रक्रिया पूरा भएको छ। मन्त्रालयकाअनुसार २१ अर्ब ४७ करोड लागत रहेको आयोजनाको यही जेठ १७ गते बुधबार ऋण स्वीकृत भएर आएको हो। त्यसमा ७५ प्रतिशत ऋण हो भने २५ प्रतिशत अनुदान हो। 

उक्त रकम अर्थ मन्त्रालयले चीनको आयातनिर्यात बैंकसँग दुई प्रतिशत ब्याज दरमा लिएको हो। विमानस्थलको २०७३ वैशाख १ गते प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए। 

ऋण अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने भएकाले अब भौतिक पूर्वाधार निर्माण प्रक्रियाले गतिलिने विश्वास लिइएको छ।

विमानस्थल निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको छ। हालसम्म मुआब्जा वितरणसहित पाँच अर्ब खर्च भइसकेको छ । 

चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले विमानस्थल निर्माण गर्नेछ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell