
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले इमानका कारण राजीनामा दिएको जवाफ दिएका छन्। व्यवस्थापिका संसदमा सम्बोधन गर्दै उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उठाएका प्रश्नहरुको जवाफ दिए।
उनले राजीनामको कारण दिए – कांग्रेससँगको समझदारी। 'नेपाली कांग्रेससँग हाम्रो समझदारी थियो। चैत मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने त्यसपछि राजीनामा,' प्रचण्डले भने। उनले दलहरुबीचको समझदारी तोडिने परम्परालाई भंग गर्दै राजीनामा दिएको दावी गरे।
'मैले देउवजीको दवावमा राजीनामा दिएको हैन। स्थानीय चुनाव सकेर राजीनामा दिन्छु भनेको भए रोक्ने अवस्था पनि थिएन। पहिलेजस्तै समझदारी बिग्रिँदा संविधान कार्यान्वयनमा समस्या आउने हो कि भनेर राजीनामा दिएँ।' उनले भने, 'मैले देउवाजीलाई बालुवाटारमा बोलाएर नै भनेको थिए - म पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि राजीनामा दिन्छु।'
नेकपा एमालेसँग पनि यस्तै खाले सहमति भएको उल्लेख गर्दै उनले त्यसको पालना नभएको प्रसङ्ग उप्काए। 'अहिलेको प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारसँग पनि समझदारी भएको थियो। तर, उहाँले पालना नगर्दा नयाँ गठबन्धनबाट म प्रधानमन्त्री बन्ने अवस्था आयो,' उनले भने, 'मैले त्यो पुरानो प्रवृत्ति अन्त्य होस् भनेर राजीनामा दिएको छु।'
'प्रतिपक्षी दलका नेताले इमानको कुरा गर्नुभयो। इमान बोलेर हैन व्यवहारले स्थापित गर्ने कुरा हो। संस्कार पनि त्यसैबाट स्थापित हुन्छ,' उनले थपे।