
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा मतपत्र च्यातिएको काम गलत भएको बताएका छन्। व्यवस्थापिका संसदमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जवाफ फर्काए, 'केपी ओलीले भरतपुरका विषयमा भन्न पनि लाज लाग्यो भन्नुभयो। भन्नुस् भन्नेलाई हैन गर्नेलाई लाज लाग्ने हो। मैले मतपत्र च्यातिएलगत्तै भनेको थिए – यो गलत भयो राम्रो भएन।'
सरकारको आलोचना गर्नेक्रममा ओलीले भरतपुर प्रकरणलाई सबैभन्दा बढी प्राथमिकता दिएका थिए। त्यसको जवाफमा प्रचण्डले भने, 'प्रधानमन्त्री भरतपुरमा अलिक धेरै नै केन्द्रित हुनुभयो। मतपत्र च्यात्ने काम भयो। त्यो गलत भयो भनेर तत्कालै भनेको छुँ।'
'दोस्रो संविधानसभाको चुनावको मत परिणाम अनपेक्षित आएपछि हाम्रा पार्टीका वरिष्ठ नेता जो अहिले हाम्रो पार्टीमा हुनुहुन्न (डाक्टर बाबुराम भट्टराई)ले मतपत्र च्यात्नुस् मतपेटिका जलाउनुस् भन्ने निर्देशन दिनुभएछ। तर, मैले थाहा पाउनसाथ मतपत्र जलाउन, च्यात्न थालियो भने हाम्रो पार्टीलाई फेरि द्वन्द्वमा पठाउने काम हुन्छ विमति धेरै छ भने बाहिर निस्केर बिरोध जनाउनुस् भने।'
'लोकतान्त्रिकरणप्रतिको प्रतिवद्धतामा प्रश्न उठाइरहन् भयो। भरतपुरको एउटा वडाको विषय उठाएर लोकतान्त्रिकरणको प्रश्न उठाउने? तपाईँलाई कति समय लागेको थियो लोकतान्त्रिकरणमा?'
'यहाँ राजनीतिक लाज ढाक्ने ढंगले एउटा घट्नालाई सामान्यीकरण नगरियोस्। सापेक्षित रुपमा स्वच्छ निस्पक्ष र धाधलीरहीत ढंगले मेरो नेतृत्वको कार्यकालमा निर्वाचन सम्पन्न भयो। यो मेरो मात्र प्रयासले हैन हामी सबैको प्रयासले भयो। मेरो पार्टीले हार्न सक्छ – तर पार्टीले हैन देशले जित्नुपर्छ।'