
काठमाडौं : व्यवस्थापिका संसदमा पूर्व प्रधानमन्त्री र वहालवाला प्रधानमन्त्रीसँगै भावि प्रधानमन्त्रीबीचको कटाक्ष रोचक र घोचक रह्यो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सफलता पाउनुमा आफूले श्रेय लिन खोजे भने बहालवाला प्रधानमन्त्रीले त्यसको खण्डन गरे – सफलताको स्वामित्वमा आफ्नो दावी राखे। भावि प्रधानमन्त्री शेरबहादुर देउवाले छोटो बोले। जति बोले सत्ताको बचाउमात्र गरे।
केपी ओलीले आफ्नो नीति कार्यक्रमले नै आर्थिक वृद्धि हुन सकेको दावी गरे। उनले दावी गरिरहँदा अरुले याद गरे गरेनन थाहा भएन प्रचण्डले भने देखेछन् – जुँगामा ताउ लगाइरहेको। प्रत्युत्तर जवाफ दिनेक्रममा वाकपटुता बलियो भएका प्रचण्ड किन छाड्थे।
'तपाईँले जुँगामा ताउ लगाएर मैले मात्र गरेको उसले टुटी मात्र खोलेको भन्नुभयो,' प्रचण्डले भने, 'मैले त सोचेको थिए - पोहोर मैले भनेको सबै गरिदिनुभयो धन्यवाद। तर, ओलीजीले भन्नुभयो टुटी खोलिदिएको। यो टुटी मात्रै खोलिएको हो?'
प्रचण्डले ओलीलाई ताउ लगाएर सफलताको श्रेय लिन खोजेको आरोप लगाउँदा सोझै ओलीतिर औंला तेर्स्याएका थिए।
ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले शिलन्यास गरिसकेको फास्ट ट्र्याकमा प्रचण्डले दोहर्याुएर शिलन्यास गरेको भन्दै ब्यङ्ग्य गरे। प्रत्युत्तरमा प्रचण्ड किन चुप बस्थे। 'उहाँले गरिसक्नुभएको रहेछ, मलाई थाहा थिएन,' प्रचण्डले भने, 'दुईपटक भयो। यसको श्रेय उहाँहरुले नै लिए हुन्छ तर बाटो चै छिटो बनोस्।'