काठमाडौँ: नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्। संवैधानिक प्रावधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाले शपथ लिनेछन्। राष्ट्रपति भवन शितलनिवासमा दिउँसो १ः४५ बजेका लाथि शपथग्रहणको समय तोकिएको छ।
देउवासँगै सत्तारुढ गठबन्धनबाट आजै केही मन्त्रीले शपथ लिने तयारी भए पनि टुंगो लागिसकेको छैन। कांग्रेसमा आन्तरिक रुपमा परामर्श भए पनि मन्त्रीको नाम टुंगो लागेको छैन। प्रमुख सत्ता साझेदार माओवादी केन्द्रले पनि मन्त्रीका आकांक्षी व्यवस्थापन गर्न सकेको छैन। फोरम लोकतान्त्रिकबाट पनि एक मन्त्रीले आजै शपथ लिने भनिए पनि निश्चित भइसकेको छैन।
कांग्रेसमा गोपालमान श्रेष्ठ, कृष्ण सिटौला, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्कीलगायतको नाम पहिलो चरणमा छलफलमा छन्। श्रेष्ठ र सिटौलामध्ये एक उपप्रधानसहित आजै शपथ लिने चर्चा गरिए पनि निश्चित भएको छैन।
माओवादीमा हालकै केही मन्त्रीले निरन्तरताका लागि पार्टी नेतृत्वमा दबाब दिएका छन्। भने, गृहमा कसलाई पठाउने भन्ने विषयमा बहस जारी छ।
अन्तिम समयमा सरकारलाई समर्थन गरेको राप्रपालाई पनि तीनदेखि चारसम्म मन्त्री दिने तयारी भए पनि राप्रपाले अझै नामावलीमा छलफल चलाएको छैन। साना दलहरुलाई मन्त्रालय दिने वा नदिने स्पस्ट भइसकेको छैन।