काठमाडौँ: संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पहिलो चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरणको कार्यतालिका तयार पारेको छ।
मन्त्रालयले तयार पारेको कार्यतालिका अनुसार प्रदेश नम्बर ३ का स्थानीय जनप्रतिनिधिलाई यही जेठ २५ देखि २७ गतेसम्म धुलिखेलमा प्रशिक्षण दिइनेछ।
यस्तै, प्रदेश ४ मातहतका स्थानीय तहका जनप्रतिनिधिलाई जेठ ३० गतेदेखि असार १ गतेसम्म पोखरामा प्रशिक्षण दिइनेछ। असार ४ गतेदेखि ६ गतेसम्म प्रदेश ६ अन्तर्गतका गाउँ÷नगरका जनप्रतिनिधिलाई सुर्खेतमा प्रशिक्षण दिइनेछ।
मन्त्रालयले नयाँ संरचना अनुसार स्थानीय अधिकारका बारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने लागेको हो।
प्रशिक्षणमा स्थानीय विकासमा लामो अनुभव प्राप्त गरेका विज्ञ, कानुन तथा योजना निर्माणका विशेषज्ञ तथा अनुसन्धानकर्ता, प्राध्यापकलगायतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासबारे प्रशिक्षण दिनेछन्।
मन्त्रालयले अन्तर्राष्ट्रिय अभ्यास तथा संवैधानिक प्रावधान अनुसार प्रशिक्षणको पाठ्यक्रम तयार पारेको छ।
तीन दिने प्रशिक्षणमा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिनुपर्ने कुरा, योजना निर्माण, स्थानीय तहमा संघको समन्वय तथा जनशक्ति, स्रोत व्यवस्थापनका तथा बजेट विनियोजनका विषयमा जानकारी गराइनेछ।
दोस्रो चरणमा निर्वाचन भएपछि ती चार प्रदेशमा पनि यस्तो अभिमुखीकरण सञ्चालन गरिने सहसचिव रुद्रसिंह तामाङले जानकारी दिए। अभिमुखीकरण नगर तथा गाउँपालिका उपप्रमुख तथा प्रमुख र कार्यकारी अधिकृतलाई समेत दिइनेछ।
स्थानीय शासन ऐन नबनेको अवस्थामा सरकारले जनप्रतिनिधिलाई प्रशिक्षणबाट तत्काल दैनिक कार्यसञ्चालनमा पठाउन लागेको हो।
प्रशिक्षणमा २८३ नगर तथा गाउँपालिका प्रमुख, २८३ उपप्रमुख र २८३ कार्यकारी अधिकृत गरी ८४९ जनालाई तालिम दिइने मन्त्रालयका योजना महाशाखाका उपसचिव चिरञ्जीवि तिम्सिनाले बताए। राससको सहयोगमा