PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

गाउँमा पहिलोपटक सिडियो र डिएसपी पुग्दा...



रासस

गाउँमा पहिलोपटक सिडियो र डिएसपी पुग्दा...

लमजुङः लमजुङको पर्यटकीय सिउरुङ गाउँमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख गाउँमा आएको भन्दै गाउँलेले भव्य स्वागत गरेका छन्।

उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई गाउँलेले भव्य स्वागत सम्मान गरेका हुन्। 

जिल्ला समन्वय समिति, लमजुङले आयोजना गरेको होमस्टेसम्बन्धी कार्यशालामा सहभागी हुन शुक्रबार पहिलोपटक प्रजिअ युवराज मैनाली र प्रनाउ समीरचन्द्र खरेलसहितको टोली सिउरुङ पुगेको थियो। 

गाउँमा उनीहरु आएपछि स्वागतका लागि वृद्धवृद्धा पनि निकै उत्साहित देखिएका थिए। “गाउँमा कति पाहुना आए, कति देशका पाहुना आए, तर जिल्लाका सिडियो साप आएको पहिलो पटक हो”, स्थानीयवासी ८२ वर्षीय तार्खु घलेले भने, “हामीले जिल्लाका हाकिमलाई गाउँमा देखेको पहिलो पटक हो।” 

सिउरुङ पुग्नका लागि सदरमुकाम बेँसीसहरबाट हिंडेर पहिले ६ घण्टा लाग्ने गर्दथ्यो तर अहिले मोटरबाट दुई घण्टामा पुग्न सकिन्छ। भौगोलिक विकटताका कारण जिल्लाका हाकिमले प्राथमिकता नदिएको गाउँलेको गुनासो थियो। 

सिउरुङमा दैनिक ३० जनाको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। प्रत्येक वर्ष पर्यटन प्रवद्र्धनका लागि गाउँमा महोत्सवसमेत हुने गरेको छ। तर पनि जिल्लाका हाकिम भने अहिलेसम्म गाउँ नआएको पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताए। 

सिउरुङलाई २०६२ सालदेखि पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन्। गाउँमा पुगेका पाहुनालाई सामूहिक पाहुनाघरमा राखेर सत्कार गर्नाका साथै घाँटु, रोधीलगायतका परम्परागत नृत्य प्रस्तुत गरी सम्मान गरिएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell