PahiloPost

Jan 5, 2025 | २१ पुष २०८१

कतार क्राइसिसको यस्तो छ काठमाडौं कनेक्सन



पहिलोपोस्ट

कतार क्राइसिसको यस्तो छ काठमाडौं कनेक्सन

काठमाडौं : विगत ३६ वर्षदेखि कायम खाडी मुलुकहरुको एकता भंग गर्दै कतारलाई एक्ल्याइएपछि त्यसको असर नेपालको बैंकिङ क्षेत्रमा समेत देखिएको छ। 

कतारी रियादको मूल्य घट्ने अनुमान गर्दै बाणिज्य बैंक तथा वित्तीय संस्था, मनी चेञ्चर तथा होटलहरुले धमाधम राष्ट्र बैंकमा पैसा जम्मा गर्न थालेका छन्।

'कतारमा आएको संकटले त्यहाँको सेयर बजार नै झरिसकेको छ। मुद्राको भाउ पनि घट्ने संभावना छ,' एक बैकका प्रमुख कार्यकारी अधिकृतले भने, 'सुरक्षित भएर बस्न हामीसँग भएको रियाद राष्ट्र बैंकमा जम्मा गरिदिएका हौं।'

राष्ट्र बैंकले पनि केही दिनदेखि कतारी रियाद जम्मा गर्नेहरु बढेको जनाएको छ। साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्टलगायतले कतारलाई एक्ल्याउँदै नाता तोडेपछि नेपाली बैंकहरु त्यहाँको पैसा आफूसँग नराख्ने अवस्थामा पुगेका हुन्। 
कतारले आतंककारीलाई सहयोग पुर्याएको आरोप सहित ती देशले सबै कुटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेको छ। 
 

राष्ट्र बैंकले अध्ययन थाल्यो

कतारमाथि त्यसका वरिपरिका देशले नाकाबन्दी गरेपछि त्यसको असर नेपालमा के कति पर्छ भनेर राष्ट्र बैंकले विभागीय अध्ययन सुरु गरेको छ।

वैदेशिक रोजगारीका लागि मलेसियापछि कतारमा सबैभन्दा वढि नेपाली पुगेका छन्। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक सुरु भएयता फागुनसम्म ६२ हजार २६९ जना कतार पुगिसकेका छन्। कतारमा कुल नेपालीको संख्या करिव ९ लाख ७१ हजार रहेको सर्वेक्षणमा उल्लेख छ।

यसको अर्थ कुल रेमिटेन्सको ठूलो हिस्सा कतारबाटै आउँछ।

'कतारका कारण नेपालमा के कस्तो असर पर्छ भनेर अध्ययन सुरु गरेका छौं,' राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले भने, 'प्रारम्भिक विश्लेषणमा नेपालमा असर नपर्ने देखिन्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell