PahiloPost

Jun 16, 2025 | २ असार २०८२

हतारोमा देउवा! प्रधानमन्त्री देउवाको सपथका दश दृश्य



पहिलोपोस्ट

हतारोमा देउवा! प्रधानमन्त्री देउवाको सपथका दश दृश्य

काठमाडौं : चौथो पटक प्रधानमन्त्री बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले बुधवार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनी सँगै अन्य ७ जना मन्त्रीले पनि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे। राष्ट्रपति भवनमा भएको सपथ समारोहका दृश्य यस्ता थिए – 

हतारिएका देउवा  

सपथ समारोहमा नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा निकै हतारोमा देखिन्थे्। उनले पटकपटक चश्मा मिलाए अनि कोटको टाँक चलाए। कुर्सीमा बस्दामा पनि बेचैन देखिए। सपथ ग्रहणका बेला सेमत उनले आफै माइक तल माथि पारे। 
 

सपथमा फड्को

राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराइरहँदा उनले एक लाइन फड्को मार्दै सिधै 'इश्वर र जनताको नाममा..' सपथ लिए। देउवा अड्किएपछि राष्ट्रपति भण्डारीले प्रचण्ड तर्फ हेरिन्। तर देउवाले तत्काल करेक्सन गरे। लगत्तै राष्ट्रपतिले भनेको लाइन दोहोर्या्ए। सपथ अगाडि बढ्यो। 

प्रचण्डसँग कुर्सी साटासाट


सपथ लगत्तै नवनियुक्त प्रधानमन्त्रीलाई निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुर्सी छाड्न चाहे। कार्य्रकम सञ्चालन गरेका राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्रप्रसाद पौड्यालले नवनियुक्त् प्रधानमन्त्रीलाई परिचयका लागि आग्रह गरे। तर, त्यतिबेलासम्म उनले सपथ पत्रमा हस्ताक्षर नै गरेका थिएनन्। देउवाले सपथमा हस्ताक्षर गरेपछि पुन: पौड्यालले परिचयका लागि आग्रह गरे। अनि मात्र प्रचण्डले देउवालाई राष्ट्रपतिको देब्रेतर्फको कुर्सी छाडे। 

मञ्चमा कामू प्रधान न्यायाधीश

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो नियुक्तीपछि दोश्रो प्रधानमन्त्रीलाई सपथ खुवाएकी हुन्। यसअघि उनले प्रचण्डलाई प्रधानमन्त्रीको सपथ दिलाएकी थिइन्। त्यतिबेला मञ्चमा तीन महिला थिए- राष्ट्रपति भण्डारी, प्रधान न्यायाधीश सुशीला कार्की र सभामुख ओनसरी घर्ती। तर, कार्कीले मंगलबार अवकाश पाएकी छिन्। मञ्चमा कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली थिए। 

शिक्षा मन्त्रीलाई 'कलम' सापटी

सपथपत्रमा हस्ताक्षर गर्ने क्रममा उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठसँग कलम भएन। उनलाई उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले कलम दिए। शिक्षा मन्त्रीमा नियुक्त श्रेष्ठ सोही कलमले सपथपत्रमा हस्ताक्षर गरे। 

राष्ट्रपतिको चश्मा छुट्दा मन्त्रीको सपथ अड्कियो

तीन उपप्रधानमन्त्रीको एकसाथ सपथ पछि राष्ट्रपतिले मन्त्रीहरुलाई पनि सपथ खुवाइन्। तर उनले चश्मा लगाउन भुलिन्। जसका कारण राष्ट्रपतिले सपथ ग्रहण गराइरहँदा अक्षरहरु देखिनन्। अनि बीचमा रोकेर टेबलमा रहेको चश्मा लगाइन्‍। त्यसपछिमात्रै सपथमा लेखिएको विषय पढ्न थालिन्।

गृहमन्त्री जनार्दन शर्मालाई उपराष्ट्रपतिको अङ्गालो

सपथ पछि परिचयको क्रममा उपराष्ट्रपति नन्दकिशोर पुनले जनार्दन शर्मासँग अङ्गालो मारे। अन्य मन्त्रीहरुसँग हात मात्र मिलाएका पुनले गृहमन्त्री भएका शर्मालाई माया दर्शाएका हुन्। माओवादी केन्द्रमा रहँदा तथा सँगसँगै भूमिगत राजनीति गरेका दुवैले गर्विलो खुसी साटे। 

प्रतिपक्षी दलका नेता ओलीको उचाले हात 

प्रधानमन्त्री निर्वाचित भए लगत्तै संसदमा देउवालाई बधाई नदिएका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बधाई दिन राष्ट्रपति भवन पुगे। उनले देउवालाई हात मिलाएर बधाई दिए। अनि देउवाले ओलीको हात समातेर उचाले। एमाले नेताहरु तथा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि बधाई दिन राष्ट्रपति भवन पुगेका थिए। 

देउवालाई पत्नी आरजुको नमस्कार

प्रधानमन्त्री देउवालाई सपथ ग्रहण समारोहमै लाइनमा बसेर पत्नी आरजु राणाले बधाई दिइन्। उनले हाँस्दै देउवालाई नमस्कार गरिन्। देउवाले नमस्कार फर्काए र अगाडि बढ्न इसारा गरे। देउवालाई बधाई दिन भारतीय राजदूत मञ्जिवसिंह पुरी भने पुगेनन्। दूतावासका विनयकुमारले देउवलाई बधाई दिए। चिनियाँ राजदूतले भने देउवालाई बधाई दिइन्। 

रामचन्द्र पौडेल पनि पुगे सपथमा

पार्टीमा मन्त्री छान्ने विषयमा विवाद भएपछि देउवाको सपथ बहिष्कारको घोषणा गरेका थिए बरिष्ठ नेता रामचन्द्र पौडेलले। मन्त्रीहरुको पोर्टफोलियो टुङ्गो लगाएर मन्त्री भागवण्डा मिलाउने आश्वासन पाएपछि उनी सपथ समारोहमा सहभागी भए। पौडेलले देउवालाई बधाई दिए। देउवाले सपथसँगै विस्तार गरेको मन्त्रिपरिषद्मा  पौडेल पक्षका नेताहरु सहभागी छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell