
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ। सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसामु पहिलो बैठकका निर्णय सुनाएका थिए। सञ्चार मन्त्री नतोकिएसम्म सरकारका प्रवक्ताका रुपमा रहने कार्कीले जनाएअनुसार संविधान कार्यान्वयनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ। बैठकले स्थानीय तहको बाँकी निर्वाचन तथा आगामी माघ ७ गतेभित्र संघीय र केन्द्रीय संसदको निर्वाचन सम्पन्न गर्नेलाई महत्वका साथ लिएको छ। त्यस्तै सरकारले भूकम्पपछिको पुनर्निर्माण तीब्रता दिने निर्णय गरेको छ।
साथै शान्ति सुरक्षासहित सुशासन र दैनिक आवश्यकताको परिपूर्तिको जनतासम्म प्रत्याभूति गराउने निर्णय गरेको छ। बैठकले शान्ति प्रकृयालाई पूर्णता दिने निर्णयसमेत गरेको छ।
बुँदागत रुपमा यस्ता छन् सरकारका प्राथमिकता -
१. संविधान कार्यान्वयन गर्ने
२. स्थानीय तहको दोस्रो चरण र माघ ७ भित्र बाँकी दुई निर्वाचन सम्पन्न गर्ने
३. भूकम्पपछिको पुनर्निर्माणलाई तीब्रता दिने
४. शान्ति सुरक्षा, सुशासन, दैनिक आवश्यकताको परिपूर्ति जनताले प्रत्याभूत हुने गरी पुर्याउने
५. शान्ति प्रक्रियालाई पूर्णता दिने