२४ वैशाख २०५९, प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपतिको अफिस 'ओभल'मा थिए। अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसलाई देउवाले नेपालका बारेमा संक्षिप्त ब्रिफ गरे।
राष्ट्रपतिसँग नेपालका विषयमा के-के कुरा कसरी राख्ने भनेर जुलिया चाङ ब्लकले पहिल्यै देउवालाई ब्रिफ गरेकी थिइन्। जुलिया शेरबहादुर देउवा गृहमन्त्री हुँदा २०४८ सालमा नेपालका लागि अमेरिकाकी राजदूत थिइन्। शेरबहादुर देउवाको विवाह आराजु राणासँग गराउन उनै जुलियाले भूमिका खेलेकी थिइन्।
शेरबहादुर देउवाले नेपालबारे ब्रिफ गरिरहँदा ओभल अफिसमा अमेरिकाका विदेशमन्त्री कोलिन पावेल, राष्ट्रिय सुरक्षा सल्लाहकार कोन्डोलिजा राइस पनि थिए। देउवासँग प्रकाशशरण महत, मधुरमण आचार्यसहित राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक रुक्माङ्गत कटवाल पनि सहभागी थिए।
ब्रिफ सुनेपछि बुसले देउवासँग भने, 'मिस्टर देउवा डोन्ट टक टु द टेररिस्ट्स, यु डोन्ट नेगोसिएट विथ देम, यु डोन्ट कम्प्रमाइज।'
आफ्नो आत्मकथा 'रुक्माङगत कटवाल'मा त्यस दिनको घट्नाक्रम व्याख्या गर्दै कटवाल लेख्छन्, - अमेरिकी राष्ट्रपति जर्ज बुसले प्रधानमन्त्री देउवासँग देब्रे हात हल्लाउँदै कड्केर भने, 'यु जस्ट फाइन्ड देम, फिक्स देम एण्ड फिनिस देम।'
बुसले जसलाई नेपालमा 'फिनिस' गर्न भनिरहेका थिए, ती ग्रामिण भेगमा युद्धरत माओवादी थिए, जसको नेतृत्व सैन्य कमाण्डरका रुपमा प्रचण्डले गरिरहेका थिए। २०५२ मा सुरु भएको माओवादी जनयुद्ध २०५८ मा आइपुग्दा चरममा थियो।
माओवादी युद्ध(होलेरी काण्ड)कै कारण कांग्रेसका सभापति समेत रहेका गिरिजाप्रसाद कोइरालाले ४ साउन २०५८ मा राजीनामा दिनुपरेको थियो। कोइराला सत्ताबाट हटेपछि माओवादी समस्या समाधान गर्ने गरी देउवा सत्तामा आए। १८ साउन २०५८ मा प्रधानमन्त्री बनेपछि उनले मुठभेड छाडेर सम्झौतामा आउन माओवादीलाई अपील गरे। उनले माओवादी सुप्रिमो प्रचण्डलाई साहासिक नेताका रुपमा समेत सम्बोधन गरे।
देउवाको आव्हानअनुसार माओवादी वार्तामा त आयो तर शान्त भने भएन, जब वार्ता भङ्ग भयो जनयुद्ध झन चर्केर गयो। ८ मंसिर २०५८ मा माओवादीले दाङको सदरमुकाम घोराहीमा सेनामाथि आक्रमण गर्यो। ११ मंसिरदेखि माओवादीविरुद्ध पहिलोपटक सेना परिचालन भयो।
सेना परिचालन भएपछि माओवादी युद्ध शान्त भएन, यो झन् फैलियो। सेना, प्रहरी र सशस्त्रलाई गुरिल्ला युद्ध गरिरहेका माओवादीलाई पराजित गर्न अझ बढी हतियार र गोलीगठ्ठा आवश्यक पर्यो। साथै अन्तर्राष्ट्रिय सहयोग पनि। यही सहयोग जुटाउने क्रममा देउवा बुसलाई भेट्न अमेरिका पुगेका थिए।
माओवादीलाई 'फाइन्ड, फिक्स र फिनिस' गर्न बुसले देउवालाई हतियार गोलीगठ्ठा र अन्य सहयोग गर्ने बचनसमेत दिए। वासिङ्टन डिसीको कार्यक्रमपछि देउवाको टोली संयुक्त राष्ट्र संघका महासचिवलाई भेटेर नेपालको माओवादीबारे ब्रिफ गर्न न्युयोर्क पुग्यो।
वासिङ्टनमा माओवादीविरुद्ध बुसको शब्द र सहयोगबाट देउवा उत्साहित थिए। न्युयोर्कमा प्रधानमन्त्रीको सम्मानमा डिनर कार्यक्रम राखियो। आत्मकथामा कटवाल लेख्छन् - डिनरमा मदिरा खुलिहाल्यो। म अलिकति तर्किएर बसेँ।
जर्साप एक पेग लिए हुन्छ नि!
प्रधानमन्त्रीले अफर गर्नुभयो।
थ्यांक यु सर
म अनकनाएँ।
उहाँले फेरि अफर गर्नुभयो।
'हजुरको भ्रमण सफल पारौं, काठमाडौंमा गएर मस्तले खाउँला नि,' मैले भनें।
देउवाको टोली अमेरिकापछि बेलायत पुग्यो। प्रधानमन्त्री टोनी ब्लेयरलाई भेटेर देउवाले त्यहाँ पनि माओवादीलाई पराजित गर्न सहयोग मागे। कटवाल लेख्छन्- बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई भेटेपछि देउवा झन् खुसी हुनुभये। ब्लेयरसँग पनि अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध एकजुट भएर लाग्ने कुरा भयो। नेपाल पनि आतंकवादको चपेटामा परेको कुरा प्रधानमन्त्री देउवाले राख्नुभयो।
देउवाले प्रचण्डको मूल्य तोके
सरकार र माओवादीबीचको वार्ता भङ्ग भएपछि माओवादी र सेना आमने सामने थिए। माओवादीविरुद्धको युद्धमा सेनालाई सहज बनाउन सरकारले देशभर संकटकालको घोषणा गर्यो। सरकारले संकटकाल लगाएपछि माओवादीले पनि वैशाख २०५९ मा पाँच दिन लामो आमहड्ताल घोषणा गर्यो।मनोवैज्ञानिक डरका कारण माओवादीले आव्हान गरेको आमहड्ताल सफल जस्तै हुँदै थियो। यसले सरकारलाई थप प्रेसरमा पार्यो। दवावमा रहेका प्रधानमन्त्री देउवाले अमेरिका जानु दुई साता अघि क्याविनेटबाट माओवादी नेताको सूचना दिनेलाई पुरस्कार दिने निर्णय गराए।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', मोहन वैद्य 'किरण' र बाबुराम भट्टराईको सूचना दिए ५० लाख रुपैयाँ पुरस्कार दिने निर्णय क्याविनेटबाट भएको थियो। तर, गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले माओवादी नेताको टाउको झोलामा हालेर ल्याए पनि पुरस्कार दिने भनेर घोषणा गरे। यसले राजनीतिमा ठूलै तरङ्ग समेत सिर्जना गर्यो।
अफ्रिका हिँडेका देउवा जब बेल्जियम पुगे
वैसाखमा अमेरिका र बेलायत पुगेर माओवादीविरुद्ध विश्वमत बनाएर आएका प्रधानमन्त्री शेरबहादुर देउवा त्यसको पाँच महिनापछि भदौ दोस्रो साता काठमाडौंबाट दक्षिण अफ्रिकाका लागि उडे। तर, उनी अफ्रिका होइन बेल्जियममा अवतरण भए।
देउवाको बेल्जियम भ्रमणको उद्देश्य थियो, माओवादीविरुद्ध युद्ध लडिरहेको नेपाली सेनालाई अझ मजबुत बनाउने र त्यसका लागि बेल्जियमसँग मिनिमी लाइट मेसिनगन खरिद गर्ने।
प्रधानमन्त्री देउवाले बेल्जियमका प्रधानमन्त्री गाइ भर्होफस्डेटलाई भेटेपछि साढे पाँच हजार मिनिमी लाइट मेसिनगनको डिल पक्का भयो। यो डिलको पृष्ठभूमि भने त्यस पाँच महिना अघि नै तयार भएको थियो।
मैले देखेको दरबार पुस्तकमा विवेक शाह २५ वैशाख २०५९ को घट्नाक्रमको व्याख्या गर्दै लेख्छन् - प्रधानसेनापति प्रज्वल शमशेर जबराले आज सेनाका लागि नयाँ हतियार किन्ने विषयमा सरकार(राजा ज्ञानेन्द्र)मा जाहेर गर्नुभयो। सैनिक प्राविधिक टोलीको समेत सिफारिसअनुसार सेनाका लागि अमेरिकी एम-१६ एटु राइफलका सिरिज र बेल्जियममा निर्मित मिनिमी एलएमजी खरिद गर्ने निधो भयो।
देउवा र भर्होफस्डेटबीच मिनिमी एलएमजी खरिदको सम्झौता त भयो तर त्यसले बेल्जियमका प्रधानमन्त्रीलाई भने अफ्ठ्यारो पार्यो। गृहयुद्ध चलिरहेको देशमा हतियार बिक्री गर्न बेल्जियमको कानुनले बन्देज गरे पनि नेपाललाई हतियार बिक्री गरेको भन्दै उपप्रधानमन्त्री माग्दा एल्भोटले राजीनामा गरिन्। त्यसको बेल्जियममा ठूलो विरोध भयो भने ग्रिन पार्टीबाट उपप्रधानमन्त्री बनेकी माग्दाले राजीनामा दिँदा छ वटा पार्टी मिलाएर बनेको संयुक्त सरकार समेत ढल्ने अवस्था आयो।
राजीनामा दिएपछि माग्दाले प्रेस सम्मेलन गरेर भनिन्, 'नेपालमा हतियारको आपूर्ति गर्ने निर्णयले मलाई केही दिनदेखि निक्कै अफ्ठ्यारोमा पारेको छ, अझ विशेष गरेर जर्मनीले हतियार आपूर्ति गर्ने प्रस्ताव अस्वीकार गरेको अवस्थामा।'
तर, भारतले रोक्यो हतियार
भदौमा अर्डर गरेको हतियार चार महिनापछि पुसमा मात्रै काठमाडौंमा सिपमेन्ट भयो। तर त्यही सिपमेन्टलाई पनि भारतले रोकिदियो। मैले देखेको दरबारमा विवेक शाह ८ पुस २०५९ को घटनाक्रमका बारेमा लेख्छन् - सेनाले बेल्जियमबाट खरिद गरेको मिनिमी लाइट मेसिनगन बोकेर नेपाल आउँदै गरेको हवाइजहाज अजरबैजानमा आपत्कालीन अवतरण गरेको छ।
भारतले आफ्नो आकाश प्रयोग गरेर उडान अनुमति नदिएपछि जहाज अजरबैजानमा अड्किएको हो। नयाँ दिल्लीस्थित बेल्जियमको राजदूतावास र हतियार निर्यात गर्ने कम्पनीले अनुमति लिने प्रयास गरिरहेका छन्। एक-दुई दिनभित्र हवाईजहाज काठमाडौंमा आइपुग्ने सम्भावना छ।
देउवा जहिल्यै हतारमा
देउवा जहिल्यै पनि हतारमा हुन्छन्, चाहे त्यो जतिसुकै कठिन र दुरगामी असर गर्ने विषय होस्। अहिले पनि प्रधानमन्त्री बन्ने भएपछि देउवाले हतार नगरी धेरै निर्णय लिए। सुशीला कार्कीलाई महाअभियोग लगाउने होस् वा त्यसलाई फिर्ता लिने। त्यसैगरी भरतपुर महानगरको मेयरका लागि सुरुमा कांग्रेस नेतालाई टिकट, त्यसपछि प्रधानमन्त्री पुत्री रेणु दाहालका लागि कांग्रेस कार्यकर्ताको टिकटको बलिदानी।उनी दीर्घकालीन र जटिल मुद्दामा पनि कति चाँडै प्रभावित हुन्छन् र निर्णय लिन्छन् भन्नका लागि एउटा उदाहरण काफि छ। विवेक शाह पुस्तकमा देउवाले संसद विघटन गर्दा ८ जेठ २०५९ को घट्नाक्रमको जानकारी दिएका छन्।
शाह लेख्छन् - आजको जाहेरीमा सरकार(ज्ञानेन्द्र) र प्रधानमन्त्रीबीच धेरै लामो राजनीतिक अन्तरक्रिया भयो। सरकारबाट प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न सल्लाह बक्स्यो। अन्ततः प्रधानमन्त्रीले सरकारको सुझाव स्वीकार गर्नुभयो। रातको १० बजिसकेको थियो।
प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने घोषणा (चुनावको मिति सहित) हामीले तयार गर्यौं। त्यो घोषणा गर्नका निम्ति प्रधानमन्त्रीले सरकारमा सिफारिस गरेको पत्र समेत दरबारमै लेखियो। प्रधानमन्त्री खाली लेटरप्याड लिएर दरबार आउनुभएको थियो। राति नै प्रधानमन्त्रीको कार्यालयबाट छाप समेत मगाइयो। सिफारिस गरेको पत्रमा प्रधानमन्त्रीको हस्ताक्षरपछि सरकारबाट राति ११ बजे प्रतिनिधिसभा विघटन गरिबक्स्यो।
जब राजाले धोका दिए
संसद विघटन गरेपछि सबैभन्दा ठूलो चेपुवामा देउवा आफै परे। संसद विघटन गरेपछि देउवालाई नेपाली कांग्रेसले साधरण सदस्य समेत नरहने गरी कारवाही गर्यो। देउवाले त्यसको रिसमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) पार्टी स्थापना गरे। पार्टी स्थापनाका लागि देउवालाई राजा ज्ञानेन्द्रले सहयोग गर्ने सहमति भएको थियो।विवेक शाह लेख्छन् - उता, प्रधानमन्त्री देउवाको पनि महाराजाधिराजप्रति गुनासो छ। उहाँ आफूनजिकका नेताहरुसँग भन्नुहुँदो रहेछ, ‘राजाले चुनाव चिह्न (रुख) दिलाएनन्। प्रतिनिधिसभा भङ्ग गर्दा चुनाव चिह्न दिलाउँछु भनेका थिए। चुनाव चिह्न मलाई नदिए पनि कम्तिमा फ्रिज गरिदिएको भए राम्रो हुन्थ्यो। राजाले धोका दिए। मैले दरबारले भनेको सबै गरेँ तर दरबारले मेरो एउटा कुरा पनि मानेन।
पछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले देउवाले विघटन गरेकै संसद व्युँताउन आन्दोलन गरे। उनले त्यसमा सफलता पनि पाए। त्यही संसदले राजाको पूरै अधिकार कटौती गर्यो।
कसरी देउवा 'असक्षम' बने
जतिबेला देउवाले गरेको डिलका आधारमा बेल्जियमबाट हतियार आउँदै थियो त्यतिबेलासम्म उनी प्रधानमन्त्रीका लागि 'असक्षम' भैसकेका थिए। १८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले देउवालाई पदबाट बर्खास्त गरे र उनलाई 'असक्षम' शब्दको एउटा ट्याग लगाइदिए। देउवाका लागि कसरी 'असक्षम' शब्द चयन गरिएको थियो?
शाह लेख्छन् - अन्य तयारी पूरा भएपछि हामी चार सचिव प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदनप्रसाद पोखरेल, संवाद सचिव मोहनबहादुर पाण्डे र मैले शाही घोषणाको मस्यौदा तयार पार्यौँ र सरकारमा सामूहिक जाहेरीका लागि गयौं। मस्यौदामा रहेका प्रत्येक शब्दको लेखाजोखा भयो र परिमार्जन पनि। त्यस बेला प्रधानमन्त्री देउवालाई के आरोप लगाउने भन्नेबारे शब्द खोज्न निकै कसरत गर्नुपर्यो । मुख्यतः उहाँले आफैले चुनावको मिति घोषणा गरेर आफैले चुनाव गराउन सक्दिनँ भनी चुनावको मिति एक वर्ष पछि सार्नुभएको थियो।
आरोप त्यसै विषयमा लगाउने निधो भयो। त्यसका लागि शब्द खोज्ने सिलसिलामा सचिवहरुले धेरै शब्द निकाल्नुभयो। तर कसैले निकालेको शब्द स्वीकार्य हुन सकेन। अन्त्यमा मैले नै ‘चुनाव गराउन असक्षम’ शब्दावली प्रयोग गर्दा ठीक हुन्छ कि भनेँ। कसैले यो शब्दको विरोध गर्नुभयो भने कसैले समर्थन। तर सरकारबाट ‘यही शब्द राख्दा ठीक हुन्छ’ हुकुम भयो। यसरी ‘असक्षम’ शब्द राखी शाही घोषणा तयार भयो। राति १०:४५ को साइतमा सरकारबाट शाही घोषणा मार्फत् प्रधानमन्त्री देउवालाई पदमुक्त गरी मन्त्रिपरिषद् समेत विघटन गरिबक्स्यो।
विवेक शाह जसले देउवाका लागि 'असक्षम' शब्द क्वाइन गरेका थिए, उनैले ज्ञानेन्द्रको निर्देशनपछि २१ कात्तिक २०६० मा दरबारको सेवाबाट हात धुनुपर्यो। दरबारको शक्तिशाली पदमध्ये एक सैनिक सचिव रहँदासम्म देशका सबै ठूला नेताले शाहसँग एक्सेस बनाए, उनीमार्फत दरवारमा पहुँच पुर्याएर लाभ पनि लिए। तर उनी 'अपमानपूर्वक' हटाइँदा भने सान्तवना दिने देउवा एक्ला नेता थिए। देउवाले शाहलाई भने - दुख लाग्यो। राजाले मलाई जबर्जस्ती हटाए, अहिले तपाईंलाई पनि त्यसैगरी हटाए। यो राजाको मात्र होइन राजसंस्थाकै लागि दूर्भाग्यपूर्ण घटना हो।
माओवादी बन्दुकको निशानामा देउवा
राजाले थापेको राजनीतिक एम्बुसमा परेपछि शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री भैसकेका थिए। तर पूर्व भैसकेका देउवालाई पनि माओवादीले निसानामा पार्न भने छाडेन्। माओवादीले थापेको एउटा एम्बुसमा परेर झण्डै उनको ज्यान गयो।८ भदौ २०६०। देउवा राजनीतिक कार्यक्रममा सहभागी भएर डोटीबाट पुलिस स्कर्टिङको गाडीमा कैलाली फर्कँदै थिए। बीच बाटोमा माओवादीले थापेको एम्बुसमा उनको गाडी पर्यो। एम्बुसमा परेपछि गाडी रोकियो। माओवादी सेनाले देउवा तिर ताकेर फायर खोले।
यसरी प्रहार भएको फायरले देउवा चढेको गाडीको टायर दुई वटा गोली लागेर पन्चर भयो। प्रहरीको स्टर्टिङमा रहेको गाडीलाई पनि माओवादीले निशाना बनाए। यो घटनामा देउवा बालबाल बचे। अरुको पनि ज्यान जोगियो। माओवादी निशानाको प्रधानमन्त्री सूर्यबहादुर थापाले भत्सर्ना गरे। अन्य राजनीतिक दलले पनि माओवादीको नियतमा प्रश्न उठाए। त्यसो भोलिपल्ट माओवादीले एउटा विज्ञप्ति जारी गरेर भन्यो- माफी चाहन्छौं। त्यसमा पूर्व प्रधानमन्त्री देउवा सवार हुनुहुन्छ भन्ने जानकारी हाम्रा योद्धाहरुलाई थाहा भएन।