PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

देउवाले छाने रोजाइमा मन्त्री, किचलै किचलोमा कांग्रेस



रमेश वाग्ले

देउवाले छाने रोजाइमा मन्त्री, किचलै किचलोमा कांग्रेस

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा संसद्बाट निर्वाचित भएर सपथ नलिँदै कांग्रेसभित्रको विवाद छताछुल्ल भएको छ। देउवाले सपथ नलिँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अनामनगरमा भेला गरेर असन्तुष्टि पोखेपछि कांग्रेसभित्रको कलह सतहमा आएको हो।

कांग्रेस सभापतिले आज बिहान नेता विमलेन्द्र निधिसँग बसेर पार्टीबाट तीन मन्त्री टुंग्याए। र, उनीहरुलाई आफ्नो सपथ ग्रहण समारोहमा नै सपथ गराए। सपथ ग्रहणअघि विरोधमा देखिए पनि रामचन्द्र पौडेल सपथ समारोहमा भने सहभागी रहे। 

पौडेल पक्षको विरोध किन?

रामचन्द्र पौडेल देउवाको सपथ ग्रहण समारोहमा नजाने चर्चा अनामनगर भेला बसेसँगै चल्यो। भेलामा सहभागी नेताका अनुसार देउवाले मन्त्री चयनमा एकलौटी हिसाबले काम गरे। त्यसको पौडेल पक्षले आलोचना गर्यो । विवाद सतहमा आउनुको मुख्य कारण चाहिँ देउवाले पौडेलसँग मन्त्री छान्ने विषयमा छलफल नगर्नु नै रह्यो। 

'देउवाजी प्रधानमन्त्री हुन उम्मेदवारी दिनेदिन बैठक राखेर सामान्य छलफल भयो, त्यहाँ पनि नेता पौडेलले प्रस्ट रुपमा देउवालाई विगतमा भएका कमीकमजोरी नदोहर्याउन र गुटलाई नभएर पार्टीलाई ध्यान दिन आग्रह गर्नुभएको थियो,' पौडेल पक्षमा रहेका एक केन्द्रीय सदस्यले भने, 'तर, देउवाजीले सभापतिका रुपमा पार्टीका नेतालाई एकपटक परामर्श समेत गर्नुभएन।' 

'अर्थमन्त्रीमा महेश आचार्यको नाम आएको थियो भने परराष्ट्र मन्त्रीमा डाक्टर शेखर कोइरालाको चर्चा थियो,' ती नेताले भने, 'तर, जब सरकार गठन हुने भयो ती मन्त्रालयहरुमा अरुलाई नै जिम्मेवारी दिइयो। पार्टीमा र उही तहका नेताबीचमा एकपटक छललफल नहुनु विश्वासमा संकट ल्याउने काम हो।' 

कंग्रेसको यो विवाद यही टुङ्गिने अवस्थामा छैन। मन्त्रिपरिषद विस्तार हुँदा पौडेल पक्षका नेताहरुले पाउने पदसँगै विवाद मत्थर हुने या चर्किने करिब निश्चित छ।

कसरी छनौट भए मन्त्री?

तीन उप-प्रधानमन्त्री सहित सात मन्त्री राखेर मन्त्रिपरिषद गठन गरेका देउवाले आफ्नो पार्टीबाट तीन मन्त्री बनाएका छन्। सपथ लिएका सबै मन्त्री देउवा पक्षका हुन्। 

विगतमा पार्टी फूट्दा र जुटेपछि पनि उपसभापति बनेर सघाएका गोपालमान श्रेष्ठ र देउवाको विश्वासपात्र भएर काम गरेका ज्ञानेन्द्रबहादुर कार्की रोजाइमा परे। विमलेन्द्र निधिको पहलमा फरमुल्लाह मन्सुर थपिए। विगतमा कोइराला समुहका कट्टर नेता मन्सुर १३ औं महाधिवेशनको केही दिन मात्र अघि निधिकै आग्रहमा देउवा समुहमा आवद्ध भएका थिए। आफूसँगै अघिल्लो मन्त्रिपरिषदमा लैजान नसकेकका उनलाई निधिले अहिले देउवाकै मन्त्रिपरिषदमा पार्न सफल भए। 

अर्थशास्त्रीलाई राजनीति शास्त्रीबाट 'रिप्लेस' 

देउवा नेतृत्वको सरकारमा विगतमा मन्त्री बन्ने चर्चा भएका अर्का पात्र थिए – २०४८ सालमा गिरिजाप्रसाद कोइराला सरकारका अर्थमन्त्री महेश आचार्य। देउवाले आफ्ना विश्वासपात्र ज्ञानेद्रबहादुर कार्कीलाई जिम्मेवारी दिएपछि आचार्य अर्थ मन्त्रालयको जिम्मेबारीमा पूर्णविराम नै लागेको छ। 

डा. शेखर न्युट्रल 

गत वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुँदा परराष्ट्र मन्त्रीको चर्चामा रहेका थिए - डाक्टर शेखर कोइराला। उनले मन्त्री बन्न नसक्नुमा त्यतिखेर रामचन्द्र पौडेलले सिफारिस नगरेको देउवाले बताउने गरेका थिए। चर्चामा कोइराला रहे पनि त्यो मन्त्रालय माओवादी केन्द्रको भागमा पर्यो। 

'मैले विगतमा र अहिले पनि मन्त्री बनाइदिन पर्यो भनेर भनेका छैन र मलाई कसैले सोधेको पनि छैन,' डाक्टर कोइरालले भने, 'त्यसैले मन्त्री बन्ने कुरा वा नबन्ने कुराले मलाई केही फरक पारेको पनि छैन।' 

बीपी कोइराला सुरुमा गृहमन्त्री बनेर पछि प्रधानमन्त्री बने पनि कोइराला परिवारका अन्य तीन सदस्य मन्त्रीको अनुभव नै नभइ प्रधानमन्त्री बनेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell