
नयाँ दिल्ली: भारतको एउटा पटाका कारखानामा विनाशकारी विस्फोटनपछि भएको आगलागीमा परी कम्तीमा १२ जना कामदारको मृत्यु भएको छ।
बुधबार भएको आगलागीमा जलेर अरू केही घाइते भएको र घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उदृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन्।
भारतको मध्य भागमा पर्ने मध्य प्रदेशको बालाघाटमा रहेको कारखानामा घटना भएको ती सञ्चार माध्यमहरूले जनाएका छन्।
आगलागी भएको झन्डै दुई घण्टापछि मात्रै आगलागी नियन्त्रण भएको थियो । “विस्फोटनको कारणका बारेमा अहिलेसम्म केही स्पष्ट हुन सकेको छैन,” स्थानीय प्रशासक भरत यादवले भने।
उनले त्यहाँ कुनै सुरक्षात्मक वा व्यक्तिगत त्रुटि भएको हुनसक्ने अनुमान गरिएको बताउँदै घटनाका बारेमा छानबिन सुरु गरिसकिएको जानकारी दिए।
भारतमा कार्यस्थलमा यस्ता दुर्घटनाहरू धेरै नै हुने गरेको छ। सुरक्षाको दृष्टीकोणले पर्याप्त सतर्कता नअपनाइएकाले यस्ता दुर्घटनाहरू बेलाबेलामा हुने गरेको बताइएको छ। रासस/सिन्ह्वा