PahiloPost

Jun 16, 2025 | २ असार २०८२

स्थानीय तह चुनाव: पाल्पामा दलहरु घरदैलोमा



पहिलोपोस्ट

स्थानीय तह चुनाव: पाल्पामा दलहरु घरदैलोमा

रामपुर: आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनावी चहलपहल पाल्पामा पुनः सुरु भएको छ।

वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको मिति एक महिना पछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ। असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन्।

जिल्लामा रहेका नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा चुनावी सरगर्मीले ढपक्कै ढाकेको छ।

गाउँ गाउँमा दिनहुँ विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्ता गाउँ पस्दा गाउँ नै अहिले चुनावमय बनेको छ। उनीहरु आआफ्ना पार्टीका एजेन्डा, कार्ययोजना बोकेर मतादातासमक्ष भोट माग्न थालेका छन्।

स्थानीय तहको निर्वाचनपछि जनताका समस्या, गाउँका विकास निर्माण, सडक, खानेपानीलगायतका समस्याको समाधान हुने आशामा यहाँका मतदाताले पनि यस पटकको निर्वाचनलाई विशेष महत्वका साथ लिन थालेका छन्।

निर्वाचनका लागि भोट माग्न गाउँ पुगेका उम्मेदवार, नेता कार्यकर्तासमक्ष मतदाताले भने गाउँका समस्या, सडक, खानेपानी, बिजुलीको समस्या समाधान हुने भएमा मात्र भोट दिने निस्दी गाउँपालिका–२ सहलकोटका दिलबहादुर रानाको भनाइ छ।

“पहिला पहिलाको चुनावमा झुटा आश्वासन दिएर नेताहरु चुनावी प्रचारप्रसार गर्न गाउँ आए, अब झुटा आश्वासन होइन, राम्रो एजेन्डा लिएर गाउँको विकास गर्नेलाई मात्र भोट”, उनले भने।

जिल्लामा मुख्यरुपमा क्रियाशील नेपाली काँग्रेस र एमालेबीच यस पटकको चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। चुनावी मैदानमा उत्रिएका विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता कार्यकर्तालाई चुनावको प्रचारप्रसार गर्न भ्याइनभ्याइ छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell