
दमकः झापा र मोरङका विभिन्न शरणार्थी शिविरमा बस्दै आएका भुटानी शरणार्थीले शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिंदै स्वदेश फिर्तीको वातावरण बन्नेमा आशावादी भएको बताएका छन्।
नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई तथा शुभकामना सन्देश पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएको बताएको हो।
झापा र मोरङका दुईवटा शिविरमा लामो समयदेखि आश्रित तथा हालसम्म पनि स्वदेश फिर्तीको पहल नभएको स्मरण गराउँदै उनीहरुले प्रधानमन्त्रीबाट यस मामिलामा सकारात्मक पहल हुने अपेक्षा गरेको बताएका छन्।
कमिटीका संयोजक कृष्णवीर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘विगतमा नेपाली कांग्रेसको सरकार रहँदा शरणार्थीलाई गाँस, वास, कपास उपलब्ध गराएकाले अब उहाँको कार्यकालमा भुटानी शरणार्थी समस्याको न्यायोचित तथा दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ।’ रासस