बागलुङः लागूऔषध बोकेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा भागेर बेपत्ता भएका एक युवकको खोजी गर्न माग गर्दै उनका परिवारले बिहीबार बागलुङ सदरमुकाम बन्द गराएका छन्।
मङ्गलबार राति बागलुङ–पर्वत सीमास्थल मालढुङ्गामा प्रहरीले नियन्त्रण प्रयास गर्दा फरार भएका बागलुङ नगरपालिका–३ का १७ वर्षीय सुनिल पुन नभेटिएछि उनका परिवार र आफन्तजन आन्दोलित बनेका हुन्।
उनीहरुले बागलुङ सदरमुकाममा यातायात र पसल बन्द गराएका छन्।
भागेर नदी तर्ने क्रममा बीचमै बेपत्ता भएको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा पुनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
बागलुङबाट कुश्मातर्फ जाँदै गरेको ध१ज ४१४ नम्बरको ट्याक्सीमा सवार पुनसहित अन्य दुई युवा लागूऔषधसहित फेला परेका थिए।
खानतलासीका क्रममा ट्याक्सीभित्र लागूऔषध फेला परेको थाहा पाउनेबित्तिकै पुन कालीगण्डकी नदीतिर भागेको प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्काले बताए।
ट्याक्सीमा रहेका दीपेन्द्र कार्की र ट्याक्सी चालक भीमसेन लामालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुको साथबाट लुकाइछिपाइ राखेको लागुऔषध डाइजेपाम–३ थान, एम्पुल र नुर्फिन–तीन थान, फेनार्गन–चार थान, नाइट्राजेपाम–तीन थान र चार थान सुई प्रहरीले बरामद गरेको छ।
आफन्तले घटनाको सत्यतथ्य छानबिन र बेपत्ता पुनको अवस्था सार्वजनिक नगरेसम्म विरोधका कार्यक्रम जारी राख्ने बताएका छन्। रासस