PahiloPost

Jul 6, 2022 | २२ असार २०७९

चोर बाटोबाट छिरे पनि पूरा भएन अमेरिका सपना, ट्रम्प सरकारले चार्टर्ड विमानबाटै गर्‍यो नेपाल डिपोर्ट



सविन ढकाल

चोर बाटोबाट छिरे पनि पूरा भएन अमेरिका सपना, ट्रम्प सरकारले चार्टर्ड विमानबाटै गर्‍यो नेपाल डिपोर्ट

काठमाडौं : बुधवार दिउँसो चार्टर गरेको विमान मार्फत् पोखरा हेम्जाका चित्रबहादुर थापा त्रिभुवन विमानस्थलमा ओर्लिए।

यहाँ उत्रेलगत्तै आफन्तलाई फोन गरेर भने - पोखरामा आउँदैछु। बुधवार काठमाडौं उत्रिएका उनी बिहीवार विहान नै पोखरातिर लागेका छन्। अमेरिकाबाट काठमाडौंका लागि उडेको चार्टर्ड विमानमा उनीसँगै अन्य ६ जना आफ्नै मुलुक फर्किँदै थिए।

अमेरिकाबाट चार्टर्ड विमानमा नेपाल फर्किनु विरलै हुने घटनामा पर्थ्यो। थापा र उनका साथीहरुको नेपाल रिटर्न सुखद् भने थिएन। चार्टर्ड विमानबाटै नेपाल आए पनि अमेरिकाको सरकारी एजेन्सीबाट डिपोर्ट गरिएका थिए उनीहरु। र, चार्टर्ड विमान पनि अमेरिकी सरकारकै थियो। 
वर्मा गए पनि कर्मसँगै भनेजस्तै भइरहेको थियो उनलाई। दुई वर्ष अमेरिका बसेर फर्किएका उनीसँग पोखरासम्म पुग्ने भाडासमेत थिएन। थियो त केवल अमेरिका जाँदाको ४१ लाख रुपैयाँको ऋणको साँवा र ब्याज।


बर्मा गए पनि कर्मसँगै

अमेरिका छिर्न पाए के के न हुन्छ भन्ने सोच बनाएका थापाले भारत हुँदै मेक्सिकोबाट अमेरिका जान दलाललाई ४० लाख रुपैयाँ भन्दा बढी बुझाएका थिए। उनी भारत हुँदै अमेरिका त पुगे तर उनले सोचेको जस्तो सपना भने पूरा भएन। गैर कानुनी रुपमा अमेरिका आएको भन्दै उनीसँगै अन्य छ जनालाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले डिपोर्ट गरेको हो। कठिन यात्रा पार गरेर स्वप्न मुलुक पुगेर नरकीय जीवन भोगेका उनलाई नेपाल रिटर्न पुनर्जन्म नै जस्तो भएको छ। 

'अब मरे पनि विदेश जान्न,' उनले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'नेपालमा नै बरु १० देखि २० हजार रुपैयाँको जागिर खाएर बस्छु तर विदेश पस्दिनँ।'

कठिन यात्राको आरम्भ 

२०७२ असोज ३ गते। गाउँघरमा दसैंको रौनकले ढपक्कै ढाकिसकेको थियो। विदेशिएका तन्नेरीहरु टीका थाप्न गाउँ फर्किन थालिसकेका थिए। अरु आइरहँदा उनी भने त्यसको रिभर्स यात्रामा थिए। अमेरिका जान भारतको बाटो। उनले भारत हुँदै अमेरिका जान दलाललाई पैसा बुझाइसकेका थिए। 

'एक जना चिनेजानेकाले ३० लाख रुपैयाँमा अमेरिका पुगिन्छ भने। पुगेर राम्रो होला भनेर ऋण गरेर पैसा बुझाइयो,' उनले भने।

१२ नेपाली र १५ जना भारतीय अमेरिका यात्राका लागि जुटेका थिए। सुरुमा उनीहरुलाई मलेसिया लागियो। त्यसपछि इन्डोनेसिया स्पेन हुँदै बोलेभिया। 

'त्यतिबेलासम्म त केही भएन। जहाजमा नै यात्रा गरियो सजिलै भयो,' उनले सुनाए।

बोलिभियापछि टर्की, पानामा, कोस्टारिका, निकारागुवा र मेक्सिको सम्मको यात्रा एकदमै दु:ख र कष्टपूर्ण। कहिले समुन्द्रको बाटो त कहिले जंगलको यात्रा। 

'पानाको जंगलमा त मानिस मेरेकै देखियो। नेपालीहरु पनि मरिरहेका देख्दा एकदम डर लागेर आउँथ्यो,' उनले सुनाए, 'जंगलमा जनावरको पनि उस्तै डर थियो, बाघ कराएको सुन्दा बाँचिदैन झै लाग्थ्यो।'

सपनामा अमेरिका

बाटो जतिसुकै कठिन भए पनि मनमा 'स्टाच्यु अफ लिबर्टी' लिएपछि पीडा कम थियो। स्वतन्त्रताको पर्याय मुलुकमा प्रवेश गरेपछि उन्मुक्त हुन पाइने लक्ष्यले दु:खलाई भुलाइरह्यो। 

अमेरिका पुगेपछि दु:खका दिन सकिन्छ भन्ने त्यही हौसलाले उनलाई कठिन यात्रा गराइरह्यो। भोकसुर्ता सबै अमेरिका सपनाले बिर्स्याइरहे। पानीको प्यास पनि हराइरह्यो।  

'पानी र खाना नखाइ पनि हिँडियो,' उनले भने।

उनीहरुले यात्रामा धेरै भोगे। क्रुर सुरक्षाकर्मीहरुको सामना गरे। कुनै कुनै ठाउँमा उनीहरुको हालत देखेर माया गर्ने सुरक्षाकर्मी पनि भेटिए। 
'कोलम्बियामा त प्रहरीले भएको पैसा समेत लुट्ने रहेछन्,' उनको अनुभव बोल्यो।

तर उनीहरुले पानामाका प्रहरीले सम्मानपूर्वक ब्यवहार गरे।

३० फिट पर्खाल नाघेर अमेरिका

दलालहरुले देश परिवर्तन भएसँगै उनीहरुलाई कहिले बस कहिले जहाज र कहिले ट्याक्सीमा हालेर लग्थे। 

'मेक्सिकोमा प्रहरीबाट उम्कन एकदमै कठिन रहेछ। प्रहरीले देख्छ भनेर कति दिन त ट्याक्सीको डिक्कीभित्र लुकेर यात्रा गरियो,' उनले भने। 
कष्टकर यात्रा गरे पनि उनको अमेरिका छिर्ने यात्रा नजिकिँदै थियो। २०७२ पुस ८ गते थापा सहितको टोली मेक्सिको र अमेरिकाको बोर्डर पुग्यो। सामुन्नेमा थियो ३० फिट अग्लो पर्खाल।

अनुमान गर्नुस् त्यति अग्लो पर्खाल पार गर्न कति कठिन भयो होला? हो उनीसहितको टोली ज्यान फाल्दै अमेरिकी भूमिमा ल्यान्ड गरे। सपनाको देशमा पुग्ने उनीहरुको सपना पूरा हुँदै थियो। अमेरिकामा पुगेर मजाले कमाउने र फर्केर सुखी जीवन यापन गर्ने लालसाले यति गाँजेको थियो कि ३० फुटको पर्खाल सामान्य नै भयो।

कठिन यात्रा पूरा गरे जसै अमेरिकी भूमिमा उनीहरु पुगे अमेरिकी बोर्डर सेक्युरिटीले उनीहरुलाई समातिहाले। 

जब सपना भयो चकनाचुर

अमेरिकालाई सपनाको मुलुक बनाएर संघर्ष गर्दै त्यहाँ पुगे पनि त्यसमाथि तुसारापात भइसकेको थियो। कहाँ सपनाको देश कहाँ डिटेन्सन सेन्टर? 

डिटेन्सन सेन्टरमा डेढ वर्ष नरकीय जीवन भोगे। स्वर्गको सपना बोकेर गरेको संघर्षले नरकीय जीवन उपलब्ध थियो उनीसामु। त्यहाँ बस्दा खाना देखिको खर्च आफैले ब्यहोर्नुपर्यो। एकदमै महँगो र नमिठो खाना। 'सपनाको शहरमा नरक भोगाइ' भोगे थापाले।

सकियो एउटा च्याप्टर

अमेरिकी सरकारले उनीसहितको टोलीलाई काठमाडौं उतारेपछि उनको सपनाको यात्राको एउटा च्याप्टर सकिएको छ। काठमाडौं उत्रिएर पत्नीलाई फोन गरे। पत्नी नै अचम्ममा परिन्। 

'खै यस्तै भयो अब कसरी ऋण तिर्ने होला?,' उनकी पत्नीले मलिन स्वरमा चिन्ता प्रकट गरिन्, 'बिहीवार बेलुकासम्म आइपुग्छु भन्नुभएको छ। आउँदै हुनुहुन्छ होला।' 

उनी पतिको प्रतीक्षामा थिइन्। थापाकी पत्नीले पहिलोपोस्टसँग कुरा गरिरहँदा थापा भने भर्खरै मुग्लिङ पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell