PahiloPost

Jun 16, 2025 | २ असार २०८२

एपीएफ र न्युडायमण्ड केएनपी महिला भलिबलको फाइनलमा



पहिलोपोस्ट

एपीएफ र न्युडायमण्ड केएनपी महिला भलिबलको फाइनलमा

काठमाडौं : केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई चिरपरिचित प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्युडायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ।

बिहीबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै एपीएफ र न्युडायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन्। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ।

साबिक विजेता एपीएफ समूह ‘ए’ र न्युडायमण्ड समूह ‘बी’बाट अपराजित रहँदै सेमिफाइनलमा पुगेका थिए।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डबलमा भएको पहिलो सेमिफाइनलमा एपीएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो। एपीएफले पुलिसमाथि २५–११, २५–२० र २५–१६ को सहज जित निकालेको हो।

एपीएफको जितमा सरस्वती चौधरीले स्पाइकबाट २१ र सर्भिसबाट ४ अंक जोडिन्।

दोस्रो सेमिफाइनलमा न्युडायमण्डले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सोझो सेटमा पराजित गर्योो। पहिलो सेटमा कडा टक्कर दिएको पश्चिमाञ्चलले दोस्रो र तेस्रो सेटमा खराब प्रदर्शन गर्दा न्युडायमण्ड सहजै विजयी भयो। प्रतिस्पर्धात्मक पहिलो सेटमा २५–२२ ले जितेर आत्मविश्वासी बनेको न्यूडायमण्डले त्यसपछि दोस्रो र तेस्रो सेठ क्रमश: २५–९ र २५–१४ ले जित्यो।

न्युडायमण्ड लाई जित दिलाउन प्रतिभा मालीको योगदान महत्वपूर्ण रह्यो। उनले स्पाईकबाट ३८ अक जोडिन्। यस्तै सेटर कृपा अधिकारीले सर्भिसबाट ७ अंक जोडिन्। पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ र अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गरेपनि टोलीलाई जित दिलाउन सकेनन्।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार हात पार्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

यसैगरी विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षक प्रत्येकले ३ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell