काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले प्रहरीमा अनुशासनको पालनासहित विधि स्थापित गरी समस्याको समाधान सङ्गठन भित्रैबाट खोज्नुपर्ने बताएका छन्।
प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री शर्माले प्रहरी सङ्गठनमा रहेका चुनौतीको सामूहिक रुपमा सामना गर्दै राष्ट्रप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
उनले चेन अफ कमाण्ड’लाई सुदृढ र व्यवस्थित गर्नुपर्ने भन्दै प्रहरीको वृत्ति विकास, भौतिक संरचना, साधनस्रोत, प्रशिक्षणलगायत विषयमा क्रमिकरुपमा सुधार गर्न आफू तयार रहेको बताए।
सशक्त जनशक्ति, राजनीतिक स्थिरता र इच्छा शक्ति भएमा राष्ट्र समृद्ध र विकसित हुने तथा यसबाट शान्ति सुरक्षामा पनि सुधार आउने चर्चा गर्दै गृहमन्त्री शर्माले यसका लागि सुरक्षाको क्षेत्रमा जनतालाई सहभागी गराइनुपर्ने बताए।
अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने घटना, प्रतिआतङ्कवाद जस्ता घटनामासमेत जनताको सहयोग र सहभागिता गराउन सकेमा अझै बढी सफलता हासिल हुने उनले बताए।
संविधानअनुसार प्रहरीको प्रादेशिक र सङ्घीय संरचनाबारे सरकारको ध्यान गएको उल्लेख गर्दै शर्माले परिवर्तित अवस्थासँगै रुपान्तरित हुन मानसिक तथा साङ्गठनिक रुपमा तयार हुनुपर्ने बताए।
सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्देशनलाई मार्गदर्शनको रुपमा अवलम्बन गर्नुको साथै यसको मर्म र भावनालाई कार्य सम्पादनमा अक्षरशः पालना गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।रासस