
धनुषाः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताएका छन्।
धनुषाको औरही गाउँपालिकाको कपटौलमा बिहीबार आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताए।
कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिर्जना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको कल्पनासमेत गर्न नसकिने बताए।
यसैबीच, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए राजपा कुनै पनि हालतमा चुनाबमा सहभागी नहुने बताएका छन्।
जनकपुरको कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महतोले मधेसको मुद्दालाई कसैले कमजोर ठानेर अगाडि बढ्यो भने यो कसैका लागि हितकर नहुने बताए।रासस