इलाम: इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ।
जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ। जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनकराज दाहालका अनुसार संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ।
सामान्यमा भन्दा अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा बढी सुरक्षाकर्मी र विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको समेत प्रजिअ दहालले बताए। सुरक्षाका दृष्टिकोणले पनि ती मतदानस्थलको नाम सार्वजनिक गर्न नमिल्ने सुरक्षा समितिले जनाएको छ।
चुनावलाई शन्तिपूर्ण रूपमा सफल बनाउन सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको सुरक्षा समितिले जनाएको छ। जिल्लाका ८१ वडामा १४४ मतदानस्थल र २४९ वटा मतदान केन्द्र छन्। रासस