
जाजरकोट: प्रतिविद्यार्थी अनुदान रकम (पिसिएफ) कटौती हुँदा जिल्लाका करिव २५ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।
विद्यालयहरुले आर्थिक स्रोत अभाव भन्दै शिक्षक नराख्दा विद्यार्थीको पढाइ प्रभावित भएको हो। शैक्षिक सत्र ०७३/७४ मा जाजरकोटका २२७ विद्यालयका २५० शिक्षकका लागि उक्त रकम निकासा भएको छैन। शिक्षा विभागले चालु वर्षमा २७ माध्यमिक, १४० प्राथमिक र ६० आधारभूत विद्यालयमा आउने अनुदान कटौती गरेको छ। स्वीकृत तथा राहत दरबन्दीसमेत नभएका विद्यालयमा आउने प्रतिविद्यार्थी अनुदान कटौती हुँदा समस्या भएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए।
पिसिएफ रकम निकासा नहुँदा विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको भगवती मावि कुदुका प्रधानाध्यापक प्रताप रोकाय बताउछन्। पिसिएफकै भर विद्यालयले ९ र १० कक्षाको पठनपाठन चलाउँदै आएकामा उक्त अनुदान निकासा नभएपछि समस्या भएको प्रअ रोकायले बताए।
'विद्यालयमा गणित, अङ्ग्रेजी, विज्ञानलगायत विषय नै पढाउने शिक्षक छैनन', उनले भने 'शिक्षाबाट गत आवसम्म पिसिएफ शीर्षकमा रु तीन लाख निकासा आउँथ्यो । त्यही रकमले मावि तहको पठनपाठन सञ्चालन गर्ने शिक्षक राखेका थियौँ।'
विभागले प्राविदेखि मावि तहका प्रतिविद्यालयलाई ५० हजारदेखि तीन लाखसम्म उक्त अनुदान निकासा दिँदै आएको थियो। गत आर्थर्क वर्षमा पिसिएफ शीर्षकमा दुई करोड ४४ लाख निकासा आएकामा चालु वर्षमा शून्य भएको सिंहले बताए।
जाजरकोटमा मावि, निमावि र प्रावि तहका ४३५ विद्यालयमा ७०० शिक्षक दरबन्दी नपुग रहेको शिक्षा कार्यालयले जनाएको छ। रासस