PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

सच्चियो गोपाल पराजुलीको जन्ममिति, ११ महिना सर्वोच्चको नेतृत्व गर्ने



पहिलोपोस्ट

सच्चियो गोपाल पराजुलीको जन्ममिति, ११ महिना सर्वोच्चको नेतृत्व गर्ने

काठमाडौँ : कायममुकायम प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले सर्वोच्च अदालतमा ११ महिना नेतृत्व गर्ने भएका छन्। उमेर विवादका कारण ५८ दिनमा अवकाश पाउने कि ११ महिना नेतृत्व गर्ने भन्ने विवादका बीच उनको सच्चिएको उमेर सर्वोच्चको वेबसाइटमा राखिएको हो। 

सर्वोच्च अदालतले आफ्नो वेवसाइटमा पराजुलीको जन्ममिति २८ अप्रिल १९५३ रहेको उल्लेख गरेको हो। अर्थात् उनको जन्ममिति १६ बैशाख २०१० कायम गरेको हो। यो सँगै उनले अब ११ महिना सर्वोच्चको नेतृत्व गर्नेछन्।


यसअघि २०७३ पुस १ गते तत्कालिन प्रधान न्यायाधीश सुशीला कार्कीले न्याय सेवा प्रवेश गर्दाकै पराजुलीको जन्ममिति रेकर्डमा राख्न न्यायपरिषद्लाई भनेकी थिइन्। कार्कीले पराजुलीको न्याय सेवा प्रवेश गर्दै गर्दाको जन्ममिति २००९ साउन २१ गते भएको रेकर्ड राख्न लगाएकी थिइन्। पराजुलीले नागरिकताको प्रतिलिपि निकालेका थिए। साथै आफ्नो जन्ममिति २००९ साल नभएको भन्दै सच्याउन न्यायपरिषद्मा निवेदन दिएका थिए। तर उनको निवेदन अनुसार मिति सच्याउन कार्कीले मानेकी थिइनन्। कार्कीले तोकेको मिति कायम रहँदा उनी ५८ दिनमा सर्वोच्चबाट अवकाश पाउन सक्थे।

जन्ममिति विवादकै कारण सर्वोच्चमा रहँदा कार्की र पराजुलीको सम्बन्ध समेत सकरात्मक रहन सकेन।

प्रधान न्यायाधीश कार्कीले गत २३ गते अवकाश लिँदै गर्दा पराजुलीको उमेर २००९ साउन २१ गते रहेको उल्लेख गर्दै संवैधानिक परिषद्मा प्रधान न्यायाधीशका लागि रोष्टर पठाएकी छिन्। तर न्यायपरिषद्ले प्रधान न्यायाधीश एक्लैले पठाएको रोष्टरको स्वामित्व लिन अस्विकार गरिसकेको छ।

न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले पराजुलीलाई न्यायाधीश नबनाउन माग गर्दै विकास गिरीले दायर गरेको रिट खारेज गर्दै गर्दा पराजुलीको जन्ममिति १६ बैशाख २०१० रहेको उल्लेख गरेपछि सोही आधारमा पराजुलीले उमेर सच्याएका हुन्।

न्यायपरिषद्का सचिव नहकुल सुवेदीले पराजुलकीको उमेरबारे अदालतको आेदश अनुसार निर्णय भएको आफूले थाहा पाएको बताए। 'मैले आदेश हेर्न पाएको छैन, त्यो खारेजी गर्दै गर्दा भयो भन्ने सुनेको हुँ', उनले पहिलो पोस्टसित भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell