विराटनगरः विराटनगर महानगरपालिकामा प्रमुख दलले उम्मेदवार टुंगो नलगाउँदा मतदाता अलमलमा परेका छन्।
दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवार टुंगो नलगाउँदा मतदाता फेरि निर्वाचनको मिति सर्ने हो कि भन्ने अलमलमा परेका हुन्।
नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाको प्रमुख, उपप्रमुखलगायत १९ वटै वडाका अध्यक्ष र सदस्यको उम्मेदवारको टुंगो लगाएको छ भने नेपाली कांग्रेस, नेकपा एमाले, सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक नेपाल, राप्रपालगायतका दलले उम्मेदवारको टुङ्गो अझै लगाएका छैनन्।
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कांग्रेसबाट सांसद अमृत अर्याल, विश्वनाथ रिजाल, भीम पराजुली र डिला संग्रौला चर्चामा छन् भने नेकपा एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित, पार्टीका जिल्ला अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मीलगायतको नाम चर्चामा छ।
त्यस्तै, प्रमुखमा राप्रपाबाट पूर्वनगरप्रमुख प्रह्लाद साहको नाम जिल्लाबाट सिफारिस भएको छ भने सङ्घीय समाजवादी फोरम नेपालबाट जयराम यादव, भुराज राई र उमेश यादवको नाम चर्चामा छ।
त्यस्तै, लोकतान्त्रिक फोरम नेपालबाट भविस श्रेष्ठको नाम अघि सारिएको बताइएको छ। विराटनगर महानगरपालिकामा फोरम लोकतान्त्रिक र सङ्घीय समाजवादीबीच तालमेलको सम्भावना रहेको सङ्घीय फोरम नेपालका कार्यकर्ता देवेन्द्र यादवले जानकारी दिए।
उम्मेदवार टुंगो नलगाएपनि राजनीतिक दलहरुले निर्वाचन प्रचारप्रसारलाई भने तीव्रता दिएका छन्।
पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर दलका प्रतिनिधि मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । मतदाताहरुलाई आकर्षित गर्न विभिन्न दलले विराटनगर बजारमा मोटरसाइकल र्यालीसमेत निकाल्ने गरेका छन्। रासस