
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै गर्दा संसदीय प्रक्रियासमेत तन्काएर असहयोग गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमा सहभागि हुने चाहना व्यक्त गरेको छ। देउवा प्रधानमन्त्री भएको तीन दिनपछि उनलाई बधाइ दिने क्रममा एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्बाङले 'सहमतिको राजनीति फर्काउन' प्रधानमन्त्री देउवाको भूमिका रहोस् भन्ने अपेक्षा गरे।
आज संसदमा देउवालाई बधाई दिने सम्बोधनमा उपनेता नेम्बाङले सहमतीय राजनीति गर्ने जनआन्दोलनको म्याण्डेट भए पनि प्रचण्ड प्रधानमन्त्री हुने समयदेखि त्यो विश्रृंखलित भएको भन्दै त्यसलाई ट्रयाकमा ल्याउन प्रधानमन्त्री देउवालाई आग्रह गरे।
'निरंकुशता विरुद्धको आन्दोलनमा जाँदा हामी सहमतीय राजनीति गर्छौ भन्ने प्रतिबद्धता थियो,' नेम्बाङले भने, 'पछि प्रचण्ड प्रधानमन्त्री हुने भएपछि सहमतिको प्रधानमन्त्री प्रचण्ड बन्न सक्दैनन् भनियो र सहमतीय संविधान संशोधन गरेर बहुमतीय अभ्यास सुरु गरिएको हो।'
उनले निरङ्कुशता विरुद्धको आन्दोलनबाट सुरु भएको सहमतिको राजनीति त्यहीबाट अन्त्य भएको भन्दै प्रधानमन्त्रीबाट 'ट्र्याकबाट झरेको राजनीतिलाई पुनः ट्र्याकमा ल्याउने' अपेक्षा गरेको बताए।
'विगत देखि अहिलेसम्म पनि म राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्छ भन्ने मान्यता राख्छु। त्यही दिनबाट सुरु भएको विग्रहले यहाँसम्म आइपुगेका छौं,' नेम्बाङ्ले भने, 'हिजो अस्तिबाट त नेपाली कांग्रेस र एमाले एकठाउँमा बस्न हुँदैन भन्ने अचम्मको नयाँ सिद्धान्त पनि आविस्कार भयो।'
सकिन्छ भने फेरि पनि दलहरुलाई एकठाउँमा राखौं भनेर आफूले यो तर्क गरिरहेको नेम्बाङले बताए।
'मलाई खुशी लाग्यो देउवाजीले बोल्दा दलहरुलाई एकठाउँमा ल्याउछु भन्नुभएको छ। उहाँले प्रधानमन्त्री भएपछि दलहरुलाई एकठाउँमा ल्याउन कति काम गर्नुहुन्छ, यो जिज्ञासाका साथ उहाँलाई मेरो आग्रह छ,' उनले भने, 'तपाईँ प्रधानमन्त्री हुँदा देशलाई एक ठाउँमा उभ्याउन कोसिस गर्नुस्।'
'आफ्नो थैलीको मुख दह्रोसँग बाँध्नु अरुलाई चोर दोष नलगाउनु' भन्ने पुरानो उखान सुनाउँदै उनले भने, 'आफ्नो थैली दह्रो राख्नु भनेको दलहरु एक ठाउँमा उभिनु हो। दलहरु एक नहुँदासम्म समस्या रहिरहन्छ।'
'घर झगडा नगर्नु, गर्यो भने छिमेकीले झ्यालबाट टाउको छिराएर उपदेश दिन थाल्छ,' अर्को उखान हाल्दै नेम्बाङले भने, 'तपाईँ सहमतिको लिगबाट झरेको राजनीतिलाई ट्र्याकमा लैजान कति सक्नुहुन्छ मेरो जिज्ञासा छ।'
उनले सर्व स्वीकार्यताका नाममा संविधानको स्वीकार्यता घटाउने काम भएको भन्दै प्रतिपक्षलाई विश्वासमा नलिदा समस्या आएको बताए।
'प्रतिपक्षलाई कुनामा पुर्याशएर संविधानको सर्वस्वीकार्यतालाई झन् कमजोर पार्ने काम भएको छ,' नेम्बाङ्ले भने।
उनले कांग्रेसले २०६४ को संविधानसभामा संविधान संशोधनका विषयमा प्रतिपक्षको सहमति चाहिने कुरा गरेको भन्दै अहिले बिर्सिएको बताए।
'प्रधानमन्त्रीज्यू, तपाईँ प्रतिपक्षमा हुँदा त्यसबेला बालुवाटारमा भन्नुभएको थियो- प्रतिपक्ष राज्यको अंग हो त्यसैले संविधान संशोधन गर्दा मन्त्रिपरिषद्मा पुर्या उनु अघि प्रतिपक्षीसँग छलफल गर्नुहोस् र मात्र मन्त्रिपरिषदबाट पारित गरेर संसद्मा् दर्ज गर्नुहोस,' नेम्बाङले भने, 'हामीले त्यसबेला ठीक हो भनेको कुरा तपाईँ प्रमुख सत्ता साझेदार भएका बेला सुन्नुभएन।' उनले प्रतिपक्षलाई विश्वासमा लिए संविधानको सर्वस्वीकार्यता हुनेमा कुनै चिन्ता नहुने बताए।
उनले भरतपुरको मत च्यातिएकोमा प्रधानमन्त्रीले बेठीक समेत नभनेको भन्दै गुनासो गरे।