प्रधानमन्त्री पदमा निर्वाचित भएका शेरबहादुर देउवामाथि फिचर लेख्न भोलिपल्ट बिहानै कनिका बुढानीलकण्ठ पुगेकी थिइ। त्यहाँ उसको एकजना मित्र थिइन, प्रधानमन्त्रीका छिमेकी। उसले साथीको घर देखेकी थिइन। सोध्दा साथीले जवाफ दिएकी थिइ, बजारमा सोध्नू। त्यसपछि देउवाको घरनिर आएर कल गर्नू। म पिकअप गर्न आइहाल्छु।
उसले एउटा साँघुरो सडक देखी। देउवाको घरसम्म पुग्ने सडक यही हो भन्ने थाहा थिएन उसलाई। उसले एकजना पसलेसँग सोधी। उसले बताइ दिएपछि ऊ सडकको मुखमा पुगी। तर, त्यहाँ पुगेपछि उसलाई लाग्यो यो बाटो देउवाको घरमा पुगिन्न। बाटोको वरपर र तलमाथि ध्वजा–पताका टांगिएको थियो। ठाउँ ठाउँमा स्वागतद्वार बनेका थिए। बाटोमा मानिसको ताँती थियो। पैताला टेक्ने ठाउँसम्म थिएन कतै।
कनिका जसोतसो स्कूटर घिसार्दै देउवा निवास पुगी। निवास परिसरमा कतै खुट्टो टेक्ने ठाउँ थिएन। बधाई दिन आउने, परिचित र अपरिचित दुवै थरी, चाकरीबाजहरु हातमा शुभसूचक खादा लिएर लाइनमा उभिएका थिए। दृश्य देखेर कनिकालाई रमाइलो लाग्यो।
उसले साथीलाई फोन गरी। एकैछिनमा उसकी साथी आइपुगी रमिता। कनिका रमितासँग देउवा परिवारबारे केही सामान्य जानकारी लिन चाहन्थी। त्यसबाहेक उसलाई फ्रेस हुनु थियो। ऊ निकै टाढाबाट आएकी थिइ। कफी र कुकीज खानुजस्तो भोक पनि लागेको थियो उसलाई।
उसले सोची, कफी त इन्स्ट्यान्ट नै पाइने त होला।
उसले रमितासँग कफीका बारेमा सोधी। रमिताले घरमा कफी बनाउने सानो मसीन र फ्रेन्च प्रेस भएको बताएपछि उसको मन फुरुङ भयो। ऊ वासरुम पसी। रमिता कफी बनाउन लागी। रमिता वासरुमबाट निस्किँदा कफीको सुवासले वातावरण गम्किसकेको थियो।
कनिकाले कफी तान्दै रमितासँग सोधी, ‘अघिपछि त यति धेरै मानिस आउँदैनन् होला। कति आउँछन्?’
रमिताले जवाफ दिइ, ‘आउन त आउँछन्। अरु नेताको घरमा भन्दा यहाँ धेरै भिजिटर आउँछन् भन्नुहुन्छ ड्याडी। तर, कांग्रेस सभापतिको चुनाव जितेदेखि यता चाहीं लर्को लामै छ। चुनाव जितेको भोलिपल्ट पनि मानिस त थुप्रै आएका थिए। बधाई दिन होला। त्योभन्दा कति बढी छन् छन् अहिले।’
त्यसैबेला मोटरको साइरन बजेको सुनियो। कनिकाले झ्यालबाट हेरी, सेकुरिटी अलर्ट थियो। शायद कुनै मिटिङमा जाँदै थिए प्रधानमन्त्री। हेर्दाहेर्दै मोटरको कारकेड तयार भयो। प्रधानमन्त्री घरबाट बाहिर निस्किए।
कनिका सोच्दैथिइ, के साइनोले आउने होला यत्रा मानिसहरु? न आउने जति सबैले चिनेका छन् प्रधानमन्त्रीलाई। आयो, खादा पहिरायो, नमस्ते गर्यो, निस्कियो। कसैकसैले कामको कुरा नउप्काउने होइन। उप्काइ हाल्यो भने प्रधानमन्त्रीले सुनेजस्तो गर्छन्। त्यो भीडमा कसैको कुरा सुनेर साध्यै लाग्दैन। मानिसहरुको ताँती आएको छ, आएको छ। प्रधानमन्त्री निस्किएर कहाँ पुगी सके। जनता लाइनमा कुरेर बसेको छ। नेपालमा पावरको कत्रो महिमा। कत्रो ओरिएन्टेशन। कत्रो महत्व। सरकार प्रमुख हुनु कम्ति महत्वको कुरा हो र?
रमिताले सोधी, ‘एइ कनि, के गर्छेस् अब?’
कनिकाले जवाफ दिइ, ‘म प्रधानमन्त्रीलाई भेटन आएको हो र? मलाई जे चाहिएको त्यो पाइसकें। अब एकपटक त्यहाँभित्र पसेर अलिकति इन्फो कलेक्ट गर्न पाए मेरो काम कम्प्लिट।’
रमिताले प्रतिक्रिया व्यक्त गरी, ‘तेरो लवाइ हेर। शीरदेखि पैतालासम्म आधाभन्दा बढी शरीर त खुला नै छ। यही गतिमा त्यहाँ भित्र गइस् भने के भन्लान् मानिसले ?’
कनिका – जे सुकै भनुन्। कपडा भनेको आफनो सुविधा अनुसार लगाउने हो। कसैलाई देखाउन लगाउने हो र?
कनिकाको कुरा सुनेर हाँसी रमिता। रमिता हाँसेको देखेर कनिकाले सोधी, ‘तेरो उलाई ठीक छ ?’
रमिताले जवाफ दिइ, ‘उ त यहाँ छैन नि अहिले। छ महिना भयो। केमरुनमा छ, अफ्रिका। अर्को महिना आउँछ। अनि टिकाटालो गरेर म पनि उतै जाने हो।’
रमिता हाँसी। कनिकाले सुस्केरा फेर्दै भनी, ‘ल, जा यार। गुडलक।’
त्यसपछि उ रमितालाई लिएर प्रधानमन्त्रीको घरभित्र गइ। हातमा खादा बोकेका मानिसको लामो लाइन देखेर उसलाई दिक्क लाग्यो। त्यहाँ सबै बाहिरका मानिस थिए कामदारहरु। घरका मानिस कोही थिएनन्। प्रधानमन्त्रीकी धर्मपत्नी आरजु देउवा – आफैं सांसद र कामकाजी महिला व्यक्तित्व थिइन्। आफनै नामले पर्याप्त चिनिएकी।
रमितालाई घरको कामदार केटीले चिनेकी थिइन्। त्यही नाताले कनिकाले घरको भित्री भागमा पनि सररर्र आँखा घुमाउने मौका पाइ। घर घरमात्रै थिएन। सुविधाजनक म्यान्सन थियो।
स्टोरीको एउटा पार्ट सकियो। अब उसले केही साधुलाई, केही ज्योतिषीलाई भेटनु थियो। प्रधानमन्त्री देउवा कर्म र भाग्य दुवैमा बराबर विश्वास गर्ने नेता भएकोले स्टोरीलाई लचकदार बनाउन कनिका कसिएकी थिइ। अझ, प्रमुख प्रतिपक्षका वयोवृद्ध वरिष्ठ नेता भरतमोहन अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको आफनो अनुभव सुनाउँदै उनको व्यक्तित्वलाई ‘विन्दास’ बताएपछि बजारमा प्रधानमन्त्रीको चर्चा चुलिएको थियो।
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
यो सिरिजका थप गाथा
कान्तिपुर गाथा : कहिले गुण्डाराज कहिले पुलिस राज
इलेक्सनको बोरिङ अपडेट छाडेर रोमान्टिक बनेकी कनिका
कुलमानमा कनिकाको आँखाअदालतमा कनिका
कनिकाको मधेश यात्रा
कान्तिपुर मेयरमा बाबुराम
कनिकाको नयाँ वर्ष
महाराज महारानीको भोजमा राष्ट्रपति
चुनावी चक्रव्यूहमा कनिकाकान्तिपुर गाथा : भ्रममा रमाएका न्यायमूर्तिहरु
किन डराएका छन् देशका पत्रकार?
सुन, पुलिस, गीत र गुण्डाको सिक्वेल
भ्यालेन्टाइन किसको सोसल रियाक्सन
अशान्त कान्तिपुरका केही छिद्रहरु
डस्टमाण्डूमा जारी छ चमत्कार