काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत यही मंगलबार हुने नेपाल र यमन बीचको खेलका लागि अखिल नेपाल फुटबल संघ एन्फाले ७ सय टिकट मात्र बिक्री गर्ने भएको छ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोवाटोमा पत्रकार सम्मेलन गर्दै एन्फाले बस्ने ठाउँ कम भएका कारण ७ सय टिकट मात्र दर्शकका लागि उपलब्ध हुने जानकारी गराएको हो।
भूकम्पका कारण एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला खेल्न लायक नभएका कारण एन्फाले नेपाल र यमनको खेल हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा गर्न लागेको हो।
पहिलो पटक अनलाइनमार्फत बिक्री हुन लागेको टिकटको मूल्य एक हजार तोकिएको छ। एन्फाले टिकट बिक्रीका लागि इसेवासँग समन्वय गरेको हो।
खेलको लागि शनिबार १० बजेबाट टिकट बिक्री खुल्ला गरिने इसेवाका सिओओ रोसन लामिछानेले जानकारी दिए। थोरै टिकट बिक्री हुने भएका कारण फस्ट कम फस्ट मार्फत ७ सय टिकट बिक्री गरिने पनि एन्फाले जनाएको छ।
यस्तै एकजनाले दुई थान टिकट लिने सक्नेछन्। टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत रकम इसेवालाई दिने एन्फा र इसेवाबीच सम्झौता भएको छ।
एसियन कप क्वालिफायर्स अन्तर्गत नेपालले होम म्याच खेल्न लागेको यो पहिलो हो भने यमन विरुद्धको खेल दोस्रो हो। यसअघि समूह चरणको पहिलो अवे खेलमा नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको थियो।
यस्तै यमन विरुद्ध खेलको तयारी स्वरुप भारतसँग मुम्बईमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-० ले पराजित भएको थियो।
यता यमनले क्वालिफायर्सकव पहिलो खेलमा ताजिकिस्तानलाई २-१ ले हराएको थियो।
नेपालसँग खेल्न यमनको फुटबल टोली आइतबार आउनेछ।
खेल विवरण
नेपाल भर्सेस यमन
स्थान : हलचोक मैदान
समय : दिउँसो ३ बजे
मिति : २०७४ जेठ ३० गते